सेवा अवरुद्ध भएको लामो समयपछि रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा रहेको वर्थिङ सेन्टर पुन सञ्चालनमा आएको छ । गाउँपालिकाको ६ नम्बर वडा ढकालबारमा रहेको रुकुमकोट स्वास्थ्यचौकीको वर्थिङ सेन्टरमा सेवा अवरुद्ध भएको लामो समयपछि पूनः सेवा सुचारु भएको हो ।

पहिले सिस्ने गाउँपालिका ५ स्थित रुकुम(पूर्व) अस्पतालमा रहेको रुकुमकोट स्वास्थ्यचौकीलाई जिल्ला टुक्रिएपछि २०७६ मंसिरमा ढकालबारा स्थानान्तरण गरिएको थियो । २०६४ सालबाट सुरु भएको बर्थिङ सेन्टरको सेवा ढकालबारामा स्थानान्तरण भएसँगै कोठा अभावको कारण पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन् । स्थानान्तरण गरिएको स्वास्थ्यचौकीको सेवा समेत भाडाको घरबाट प्रवाह गरिएको स्वास्थ्यचौकीकी अनमी सकुन्तला बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार २०७७ मंसिरमा सिस्ने गाउँपालिकाले सानो ३ कोठे भवन निर्माण गरिदिएपछि आफ्नै भवनमा सरेको स्वास्थ्यचौकीबाट वर्थिङ सेन्टरको सेवा भने सुचारु हुन सकेको थिएन् ।

अहिले सिस्ने गाउँपालिका र सर्वाङ्गिन विकास केन्द्रको सहयोगमा दुई कोठे भवन निर्माण भएपछि वर्थिङ सेवा पुन सुचारु गरिएको स्वास्थ्यचौकी इन्चार्ज नमुना पुनले जानकारी दिनुभयो । वर्थिङ सेवा सुरु भएसँगै सिस्ने गाउँपालिका ६ खोपिचारकी २९ वर्षिया कुमारी बुढाले वर्थिङ सेन्टरबाटै छोरी र ढकालबारा निवासी २५ वर्षिया कोपिला हमालले छोरालाई जन्म दिनुभएको इन्चार्ज पुनले जानकारी दिनुभयो । वर्थिङ सेन्टरबाट सेवा सुचारु भएसँगै सेवा प्रवाहमा सहजता आएको उहाँको भनाई छ ।

“यसअघि ३ वटा कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह गरेका थियौ”, अनमी बुढाथोकीले भन्नुभयो, “वर्थिङ सेन्टरलाई चाहिने न्यूनतम आधारभूत कोठा अभावको कारण वर्थिङ सेन्टरका सामाग्री खुला आकाशमा छापेर राखेका थियौ । यसरी सामाग्री राख्दा कतीपय सामाग्री घाम पानीको कारण बिग्रीएर प्रयोग गर्न नमिल्ने भएका छन् ।” अहिले भवन निर्माणसँगै वर्थिङ सेवा पुनः सुचारु भएपछि सिस्ने ६ बासीलाई सहज भएको उहाँको भनाई छ । रुकुमकोट स्वास्थ्यचौकीमा वर्थिङ सेवा ठप्प भएपछि यहाँका नागरिकहरु जिल्ला अस्पतालमा गएर वर्थिङ सेवा लिने गरेका थिए ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले वर्थिङ्ग सेन्टर पुन संञ्चालनमा ल्याउनको लागी सहयोग र सहकार्य गर्ने एचडिसि नेपाल, फेयरमेड फाउण्डेशन र ग्रामिण स्वास्थ्य सुधार परियोजना (स्केल अप) लाई धन्यवाद दिनुभएको छ ।