
रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले किसानलाई शत प्रतिशत अनुदानमा बंगुर वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको २ लाख बजेटबाट गाउँपालिका भित्रका १२ जना किसानलाई तीन तीन वटाको दरले हेम्पसायर जातको बंगुर वितरण गरेको हो । किसानलाई सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले बंगुर हस्तान्त्रण गर्नुभएको छ ।
गाउँपालिकाले बंगुर वितरणको लागि सुचना जारी गरि माग फारम संकलन गरेको थियो । पालिकामा परेको माग संख्याको आधारमा १२ जना किसानलाई बंगुर वितरण गरेको गाउँपालिका पशु सेवा शाखा प्रमुख भिमबहादुर झाक्रिले जानकारी दिनुभयो । फर्म दर्ता गरेका र समुह, सहकारीमा आवद्ध किसानलाई बंगुर वितरण गरेको उहाँले बताउनुभएको छ ।
पालिकाले शत प्रतिशत अनुदानमा वितरण गरेका बंगुरबाट धेरै भन्दा धेरै लाभ लिन गाउँपालिका अध्यक्ष रेग्मिले किसानलाई आग्रह गर्नुभएको छ । किसानलाई आयआर्जनमा टेवा पुगोस भनेर प्रोत्साहन स्वरुप वितरण गरिएका बंगुरबाट लाभ लिन सक्नुपर्ने उहाँको भनाई छ ।
रुकुमकोट सेराखेतमा ललीता थापा बुढाले रुक्मेली कृषि तथा पशुपन्छि फर्ममा उत्पादन गरेका बंगुर किसानलाई वितरण गरिएको हो । बंगुर वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रेग्मिसहित पशु सेवा शाखा प्रमुख झाक्रि मगर, नाप्रास मिठ्ठु शाह ठकुरी लगाएतको उपस्थिती रहेको थियो ।