रुकुम(पूर्व) मा विश्व औलो दिवस २०८० मनाइएको छ । “शुन्य औलो अबको थालनी, नविनतम कार्य कार्यान्वयनमा लगानी” भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी देशव्यापी रुपमा विश्व औलो दिवस मनाउदै गर्दा रुकुम(पूर्व) मा पनि यो दिवस मनाइएको हो । पछिल्लो समयमा औलोको बिरामीहरु बढ्दै गएका छन् । औलो नियन्त्रणको लागि विभिन्न कार्यक्रम गरिदै आएपनि औलो नियन्त्रणमा आउन सकेको छैन् । अहिले औलो तराइबाट पहाड हुँदै हिमाली क्षेत्रतीर उक्लदै गइरहेको पाउन सकिन्छ ।

रुकुम(पूर्व) मा औलोको बिरामी अहिलेसम्म फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । भूमे गाउँपालिका २ स्थित काँक्रि स्वास्थ्यचौकीमा एक जनालाई औलोको शंकास्पद व्यक्ति भनेर मलेरियाको आरडीटी परिक्षण गरिएको थियो । तर पछि नेपालगञ्जमा चेक गर्दा औलो नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवम् ल्याब टेक्निसीयन निमप्रसाद गिरीले जानकारी दिनुभयो । तर प्रदेशमा भने रुकुम(पूर्व) मा एक जनामा औलो देखिएको भनेर विवरण राखिएको छ ।

प्रदेशभरीमा सबैभन्दा बढी बाँकेमा औलोको बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षमा मात्र बाँकेमा ९३ जना औलोको बिरामी भेटिएका छन् भने सबै भन्दा कम रुकुम(पूर्व), रोल्पामा औलोको बिरामी भेटिएका छन् । गिरीका अनुसार स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रुकुम(पूर्व) मा आर्थिक वर्ष २०७६÷७७ मा ९२ जनामा मलेरियाको आरडीटी परिक्षण गरिएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा ७६ जना, २०७८÷७९ मा ४ सय ६ र आर्थिक वर्ष ७९÷८० को हालसम्ममा ३ सय १६ जनामा मलेरियाको आरडीटी परिक्षण गरिएको छ ।

चालु आर्थिक वर्षमा रुकुम(पूर्व) अस्पतालसहित विभिन्न स्वास्थ्यचौकीहरुबाट जाँच गर्दा ३ हजार १३ जना ज्वरोको बिरामी भेटिएकोमा ३ सय १६ जनाको आरडीटी परिक्षण गरिएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । यो परिक्षण निकै न्यून भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक ज्वरोको केस औलो हुन सक्छ भन्ने हुँदाहुँदै पनि परिक्षणको दायरा बढ्न नसक्नु औलो नियन्त्रणको लागिग चुनौती देखिएको गिरीले बताउनुभयो ।

अहिले स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले औलो परिक्षणको लागि रुकुम(पूर्व) रुकुम(पूर्व) अस्पताल र काँक्रि स्वास्थ्यचौकीलाई छनोट गरि प्रदेशमा प्रस्ताव गरि पठाएको छ ।

स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का प्रमुख नारायण प्रसाद चौधरीले औलो रोगले मानिसको ज्यानै जान सक्ने भएकाले आफ्नो स्वास्थ्यको जाँच गराउन आग्रह गर्नुभएको छ । अहिले तराइबाट पहाड हुँदै हिमाली क्षेत्रतीर औलो सर्दै आएको बताउदै प्रमुख चौधरीले औलोको शंका लागेमा लापरबाही नगरी तत्काल स्वास्थ्य परिक्षण गर्न र स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधी उपचार गर्न आग्रह गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ ।

नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । ‘औलो सामान्य र कडा लक्षणसहितका हुन सक्छन् । औलो सङ्क्रमण भएको सातदेखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ ।’

स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का प्रमुख नारायण प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रुकुम(पूर्व) अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ड डाक्टर जितेन्द्र राज कोइराला, सिस्ने गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक पुष्पा ओली लगाएत जिल्लास्थित स्वास्थ्यचौकीका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसीयन निमप्रसाद गीरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक श्यामप्रसाद चौधरीले गर्नुभएको थियो ।