रुकुम पूर्व । जिल्लाको सवैभन्दा पुरानो विद्यालय रुक्मिणी मावि रुकुमकोटले पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । सिस्ने गाउँपालिका ५ बाहुन्ठाना निवासी डाक्टर मोहन कुमार शर्मालाई विद्यालयले सम्मान गरेको हो । शर्माले कखरा देखि माध्यामिक तहसम्मको पढाई रुक्मिणी माविमा पुरा गर्नुभएको थियो ।
मंगलबार विद्यायलमा एक कार्यक्रमको आयोजना गरि डाक्टर शर्मालाई सम्मान गरिएको विद्यायल व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश थापाले जानकारी दिनुभयो । शर्मालाई खादा, अविर, पुष्प गुच्छा सहित सम्मान पत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ ।
रुक्मिणी माविमा अध्ययन गरेका शर्माले विद्यावारिधि जस्तो उच्च उपाधी हासिल गरि विद्यायलको शिर उच्च राखेकोमा प्रधानाध्यापक चन्द्र बहादुर मल्लले खुसी व्यक्त गर्नुभयो । विद्यालय परिवारले शर्माको थप प्रगतिको कामना समेत गर्यो । डाक्टर शर्माले स्वास्थ्य विषयमा विद्यावारिधि गर्नुभएको छ । सम्मान कार्यक्रमका अवसरमा उहाँले नगद ११ हजार एक सय १ रुपैयाँ विद्यालयलाई सहयोग समेत गर्नुभएको छ ।
वि.व्य.स. अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा वि.व्य.स. सदस्य फनेन्द्र आचार्य, प्रअ मल्ल विद्यायलका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रमको सञ्चालन शिक्षक बलबहादुर शाहीले गर्नुभएको थियो ।