रुकुमकोट । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले सिस्ने गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई आयुर्वेद तथा योग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

बुधबार र बिहिवार जिल्लाको सिस्ने गाउँपालिका ५ मा स्थित रुक्मिणी मावि रुकुमकोटमा दुई दिने आयुर्वेद तथा योग सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो ।

दुई दिनसम्म चलेको कार्यक्रममा स्वस्थ जीवनशैली प्रवर्द्धन, प्रकृतिमैत्री नमुना गाउँ शहरको बारेमा चेतनामूलक कार्यक्रम संचालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख बिष्णुहरि आचार्यले जानकारी दिनुभयो ।

योग मार्फत मानिसको दैनिक क्रियाकलापमा परिवर्तन गराई स्वस्थ जीवनशैली अपनाउन सचेतना फैलाउन उदेश्यले जनप्रतिनिधि र कर्मचारीलाई कार्यक्रममा समावेश गराइएको आचार्यले बताउनुभयो ।

कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख आचार्यले योग तथा आसनको अभ्यास गराइएको थियो । उहाँले अन्य शारीरिक व्यायाम भन्दा उचित तरिकाले योग गर्दा मानव शरीरलाई फाईदा हुने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले सहित अन्य जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।