रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले प्रविधिमैत्री शिक्षा कार्यक्रम सुरु गरेको छ । माथिल्लो कक्षामा शैक्षिक गुणस्तर कमजोर भयो भन्ने गुनासो आएपछि शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउन र कायम गर्न गाउँपालिकाले “गुणस्तरीय शिक्षाको आधार, प्रविधिमैत्री शैक्षिक पूर्वाधार” भन्ने मुल नाराका साथ यस शैक्षिक सत्रबाट प्रविधिमैत्री शिक्षा कार्यक्रमको सुरुआत गरेको हो ।
पहिलो चरणमा गाउँपालिकाले प्रत्येक वडाबाट पूर्वाधार र जनशक्तिको सम्पन्नताको आधारमा एक एक वटा विद्यालय छनोट गरेर नमुनाको रुपमा प्रविधिमैत्री शिक्षा कार्यक्रमको सुरुआत गरेको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो । उहाँकाअनुसार सिस्नेको १ नम्बर वडामा हिमालय मावी पाखापानी, २ नम्बर वडामा हिमालय मावि नायगाड, ३ नम्बर वडामा जनता मावि पोखरा, ४ नम्बर वडामा जनप्रीय मावि पोखरामा यो कार्यक्रम सुरु गरिएको छ । यस्तै ५ नम्बर वडाको रुक्मिणी मावि पोखरा, ६ नम्बर वडाको त्रिभुवन जनता मावि पोखरा, ७ नम्बर वडाको आधारभूत विद्यालय सानचौर र ८ नम्बर वडाको सानोभरी मावि लम्पाकोटमा प्रविधिमैत्री शैक्षिक कार्यक्रमको सुरुआत गरिएको छ ।
यी विद्यालयमा गाउँपालिकाले एकएक वटा एलइडी टि. भि., सेन्सर कलम, साउन्ड बक्स, सेन्सरले रिड गर्न सक्ने किताब उपलब्ध गराइएको अध्यक्ष रेग्मिले बताउनुभयो । यी प्रविधिबाट ८ वटा विद्यालयका शिशु कक्षा, केजी र कक्षा १ का विद्यार्थीलाई पढाइदै छ । कतीपय विद्यालयमा वैशाखको १ गतेबाटै टिभीमा देखाउदै विद्यार्थीलाई पढाउन सुरु गरिसकिएको छ भने कतीपय विद्यालयमा प्रविधि जडानको काम चलिरहेको गाउँपालिकाले जनाएको छ ।
शिशु कक्षाका विद्यार्थीले कक्षामा जे सुन्छन त्यहि उच्चारण गर्न सकोन भन्ने उदेश्यसहित सुन्ने र बोल्ने कुरामा जोड दिएर पढाउने व्यवस्था मिलाइएको गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । उहाँकाअनुसार कक्षा १ मा सुन्ने र बोल्ने सँगसँगै लेख्ने र पढ्ने व्यवस्था रहेको छ ।
टिभीमा हेर्दै पढ्न थालेपछि विद्यार्थीहरुमा सिकाई उत्सुकता पनि बढ्न थालेको रुक्मिणी माविका प्रधानाध्यापक चन्द्रबहादुर मल्लले बताउनुयो । टिभिमा चित्र हेरेर अक्षर चिन्न विद्यार्थीले सजिलो मान्ने गरेको उहाँले बताउनुभयो । सिस्ने गाउँपालिकाले सुरुआत गरेको यो नयाँ कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरेको विद्यालयहरुले जनाएका छन् ।
आर्थिक वर्ष २०८०∕८१ मा गाउँपालिका भरीका सबै ३९ वटा विद्यालयका शिशु र कक्षा १ मा यो कार्यक्रम लागु गर्ने र आर्थिक वर्ष २०८१∕८२ मा कक्षा २ मा प्रविधिमैत्री शिक्षा कार्यक्रम लागु गर्ने योजना सिस्ने गाउँपालिकाको रहेको छ ।