रुकुम पुर्व: सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमका लागि राय सुझाव माग गरेको छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेका बेला गाउँपालिकाले शुक्रबार एक सार्वजनिक सूचना जारी गरि आवश्यक सुझाव दिन भनेको हो ।
पालिका आगामी नीति तथा कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकाले जेठ अन्तिमसम्म सुझाव दिन सूचनामा भनिएको छ । आम सरोकारवाला नागरिक, बुद्धिजीवी, राजनितिक दल, शिक्षक, सरकारी एवम् गैरसरकारी निकाय, सन्चारकर्मी र सिस्ने गाउँपालिकावासीबाट राय सुझाव माग गरिएको हो ।
नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा व्यक्ति र संघ संस्थाबाट रचनात्मक सल्लाह सुझाव पालिकामा पेश गर्न भनिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । उहाँकाअनुसार इमेल मार्फत ब्यक्ति तथा निकायले सल्लाह सुझाब दिन सक्नेछन् ।
लिखित सल्लाह सुझाव लिन पालिकाले तीन वटा इमेल खुल्ला गरेको छ । जसको लागि गाउँपालिकाले sisnermun@gmail.com,regmikrishna2079@gmail.com र gopalreule@gmail.com मा राय सुझाव पेश गर्न भनेको छ । इमेलमा प्राप्त भएका सुझाव मध्य उत्कृष्ट सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिने छ ।
अगामी नीति कार्यक्रम तथा बजेटलाई समय अनुकुल बनाइ जनताका अत्यावश्यक समस्या समाधान गर्न सार्वजनिक रूपमा सुझाव माग गरिएको रेग्मीले बताउनुभयो । जनताको आवश्यकता र मागका आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याइने पनि उहाँले बताउनुभएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन,२०७४ र अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार हरेक स्थानीय तहले असार १० भित्र सभामा बजेट पेस गर्ने व्यवस्था रहेको छ ।