रुकुम(पूर्व) मा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो । भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भुमे गाउँपालिकाले जेठ ३२ गते पालिकाभरी सार्वजनिक बिदा दिएको छ । यो बिदा स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाले दिँदै आएको छ । असार १ गते भने लुम्बिनी प्रदेश सरकारले नै रुकुमपूर्व र रोल्पामा सार्वजनिक बिदा दिदै आएको छ ।
रुकुम(पूर्व) मा जेठ मसान्तको अघिल्लो दिनमा पुजारीसहित फूल टिप्न आफुलाई पायक पर्ने लेकमा जाने गर्दछन् । रातभरी नाँच्दै, गाउँदै रमाइलो गर्दै आदी बाटोमा गएर बास बस्ने र भोलीपल्ट अर्थात जेठको अन्तिम दिन बिहानै लेकमा पुगी फूल टिपेर ल्याउने चलन छ । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । जेठको अन्तिम दिन बिहानै लेकमा भूमि देवतालाई धारधुप गरेर फूल टिप्न आरम्भ गरेसँगै भूमे पर्व सुरु भएको बुझिने भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार अर्नीपानी सगुन बोकेर लेक जानेले ल्याएको रङ्गीविरङ्गी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्ने गरिन्छ ।
अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “फूल लेकाली देवताको सगुनको रूपमा टिप्ने र ग्रहण गर्ने गरिन्छ । पुजारी गाउँलेले खटाएको हुन्छ । पुजारीले लेकमा धजा, धारधुप तथा अक्षतासहित भूमि देवतासँग गाउँमा राम्रो होस् भनी बाचा कबुल गरेर लेकबाट नै शिरमा रङ्गीविरङ्गी फूल तथा मगर पोशाकमा लहरै लागेर नाच्दै गाउँ झर्छन् । पुजारीले पशुको बलि दिँदा गाउँमा महिलाले ध्वाँसो, खरानी, दशैँमा ढोकामा राखिएको टीका–जमराजस्ता घर लिपपोत गरेर निस्किएको फोहरलाई घर बाहिर फाल्दछन् । त्यसैलाई नै बल हाल्ने भन्ने गरिन्छ । बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूमेले लैजाने जनविश्वास रहिआएको ेछ ।”
पर्वमा पूजासँगै २२ चालमा नाँच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ पनि भनिन्छ । आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो । यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ । विगतमा मगरले मात्रै मनाउने यो पवर्मा अहिले अन्य जाति पनि रमाउन थालेको श्रेष्ठले बताउनुभयो ।
मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ । सोही पर्वमा जनताको सङ्ख्याको लगत राख्नेजस्ता कामसमेत गरिन्थ्यो । मगर बहुल क्षेत्रमा विशेष पर्वका रूपमा मनाइने यस पर्व रुकुम(पूर्व)को भूमे गाउँपालिकामा विशेष तरिकाले मनाइन्छ । पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाको विभिन्न क्षेत्रमा पनि यो पर्व मनाइने गरेको पाइन्छ ।
भूमे पर्वको इतिहास
परापूर्वकालमा एक मगर बाहुल्यता भएको गाउँमा अल्पसङ्ख्यक रुपमा भाँडाकुँडा बनाउनलाई सिर्पाली विक, कपडा सिलाउने र बाजागाजा बजाउने दमाई (परियार)को मिश्रित बसाइँ रहेको थियो । खोलाको पानी लिन गाउँबाट केही माथि ठुला–ठुला पहरा (पहाड)हरु काटेर जानु पर्दथ्यो । खोलमा पानी भर्न जाने क्रममा कुनै जोग पारेर मान्छे हराइरहेका हुन्थे । यसरी पानी भर्न जाने मान्छे हराउँदै जाँदा गाउँ नै भावविह्वल भयो । यसरी गाउँ नै शोकमा डुबेपछि गाउँका मुखियाले गाउँभेला बोलाइ मान्छे हराएको पत्ता लगाउन गाउँका सबैलाई खटाउन्छन् । ५÷६ जनाको टोली बनाएर पानी भर्न लगाउँदा फर्कने क्रममा पछिल्लो पानी भरुवालाई पहराको मुनिबाट निस्केको सर्पले खाएको देख्छन् अन्य मान्छेले देख्छन् ।
यसरी सर्पले खाएको थाहा पाएपछि गाउँलेहरु भेला भई कसरी सर्पलाई तह लगाउन सकिन्छ भनेर छलफल गर्छन् । सिर्पाली विकले म त्यो सर्पलाई आफ्नो काबुमा ल्याउन सक्छु भनेर भन्छ । त्यसको लागि एक धार्नी फलामको सनासो तयार पारिन्छ र फेरी पानी भर्न मान्छे पठाइन्छ । सर्प त्यहि मान्छेलाई खान निस्केको बेला सनासोले सर्पको घाँटीमा अठ्याउँछ र सिर्पालीले सोध्छ ‘तँ को होस् ? तैले किन मानव क्षति गरिरहेका छस् ?’
सर्पले सिर्पालीलाई आग्रह गर्छ ‘मलाई नमार मनुखे, म भूमि देवता जेठको मसान्तको दिन दुध मात्र खाएर असार १ गते मलाई एक हाँसे भेडा लिएर पूजा गर्नु मैले मानव क्षति पनि गर्दिनँ र बाढीपहिरो पनि रोक्छु’ । सर्पले यसो भनेपछि त्यही वर्षबाट पूजा गरियो । त्यसपछि कुनै मानवीय क्षति भएन र बाढीपहिरो पनि गएन । त्यसैले भूमि देवतामाथि विजय प्राप्त गरेको उपलक्ष्यमा भूमे पूजा, भूमे नाच सुरु भएको इतिहास छ ।
ठाउँअनुसार भूमे पर्वको नामाकरण
यस भूमे पर्वलाई रोल्पाको थवाङ, रुकुम(पूर्व) को क्याङसी, महतमा झ्यामकरी र भलक, काँक्री, लुकुमतिर नोगोवाङे र भूमे तथा तकसेरातिर भुल्कु भनेर पनि भनिन्छ ।
भूमेको औपचारिक फुकुवा
भूमेको औपचारिक फुकुवा गाउँअनुसार फरक हुने भएकोले एकरुपता भने छैन । तर जसले जति गते भूमे पर्व फुकाए पनि जेठ महिनामै फुकाउँछन् । कुनै गाउँमा वैशाखे पूर्णीमामा कुनै ठाउँमा जेठको १ गते, कुनै गाउँमा जेठ १५ गते फुकाउँछन् । भूमे पर्व फुकाउँदा गाउँका मुखिया प्रधानपञ्च कहाँ गएर जोडाधजा, धार्नी रक्सीले ढोग गरी अनुमति मागेपश्चात दमाई कहाँ गएर बाजागाजा फुकाउने चलन रहेको छ ।
फूल टिप्न जाने
भूमे नाच फुकाउनु अगाडि युवा–युवतीको एक भूमे नाच समूह बन्छ । जसको नाम ठाउँअनुसार फरक हुन्छ । कुनै ठाउँमा नोगोवाङे, कुनै गाउँमा भल्क पसिने समूह । त्यही समूह जेठ मसान्तको अघिल्लो दिन रोटी, रक्सी लिएर दिउँसो ४÷५ बजेतिर लेक चढ्छन् । नाच्दै गाउँदै लेक चढेको समूहले डाँडाकाँडा भरिभराउ बनाएको हुन्छ । डाँडाको युवा–युवतीको लस्कर मौसमअनुसार बसाइँ सर्ने मालचरिको समूहझै नाच्दै लाग्छ । उकाली काटेपछि ४÷५ घण्टामा लेकको नजिक पुग्छन् र त्यहीँ वास बसी रातभरि भूमे नाच, झाम्रे गीत गाएर बिहानको ३ बजाउँछन् । ३ बजेतिर पुजारी उठेर लेकमा पूजा गर्न गएपश्चात बल्ल फूल टिप्न जाने समूह त्यहाँबाट उकाली चढ्छन् ।
पूजा गर्नुको अर्थ फूल टिप्न जाने समूहले जान वा अन्जानले जुठो पिटो भएमा माफी दिनु, फूल टिप्न आउने समूहलाई भिरबाट जोगाइदिनु, ढुङ्गामुढाबाट जोगाइदिनु, बुकी लाग्नबाट जोगाइदिनु भनेर पन्थ्यौली र लेकका सिद्ध देवतालाई पुकारेपछि फूल टिप्न जाने समूह भिर÷पाखामा छरिएर फूल टिप्न लाग्छन् । फूल टिपेर एक मुर्ला लिएर आफ्नो पन्थ्यौलीमा मुर्ला गाडेर आ–आफ्नो पन्थ्यौली घुमाइ नाचेपछि नोगोवाङे समूह महिलाको पछ्यौरी जोडेर लामो बनाई घरतिर बाटो लाग्छन् ।
नाच्दै गाउँ आउने क्रममा एक जलाकी(भन्ज्याङमा ढुङ्गा थुपारेर बनाइएको पुजा गर्ने ठाउँ) भेटिन्छ, त्यहाँ एक मुर्ला गाडेर नयाँ फूल टिप्न गएको व्यक्तिलाई उक्त जलाकी बोकेर घुमाउँछन् । बुढापाकाकाअनुसार बोकेर घुमाएपछि बोकी माग्नेलाई शुभ हुन्छ भनेर एक दुई पैसा पन्थ्यौली अथवा जलाकीमा चढाउँछन् । केही तल आएपछि युवतीहरु बुकीबाट टिपेर लिएको केही फूललाई माला बनाएर पुरुषको समूहलाई लगाइदिन्छन् । गाउँको नजिक आउँदा फूल माग्नेहरुको लस्कर हुन्छ । उनीहरु रक्सी र रोटी लिएर भोकाएर आएका फूल टिप्न जाने समूहलाई स्वागत गर्छन् । बुकीबाट फूल टिपेर आउने समूहले फूल माग्नेलाई फूल दिएर सम्मान गर्छन् भने फूल शिरमा समेत लगाइलिन्छन् । थर्की(नाच्ने थला) पुगेपछि सबैलाई शिरमा फूल लगाएर सम्मान गर्छन् । केही चाला नाचेपश्चात फेरि गाउँ घुमेर नाची थर्कीमा आएर त्यसदिन अन्त्य गर्छन् ।
असार १ गते
असारको १ गते भूमे नाच्ने समूह थर्कीमा आएर नाच्दै गर्दा गाउँ नजिकको थानमा पूजा सुरु हुन्छ र सबै भूमे नाच्ने समूह नाँच बन्द गरेर पूजा गर्ने ठाउँमा जान्छन् । जब सिर्पाली विकले साँढे मन्छाउँछ, मान्दा बित्तिकै पाती र फूलले हान्छन् र साँढे गाउँको बाटो हुँदै लैजाने क्रममा गाउँका धुइसो, कुलपुजा बेला ढोकामा लगाएको टीका, आफ्नो पितृलाई चढाएको मकै, नाङलोभरि बनाएर तयारी अवस्थामा बसेका गृहणीहरुले बलि दिन लागेको साँढेलाई हान्छन् । जसको अर्थ घरको कालकष्ट रुघामुघा सन्चो होस् भन्ने हो । यसरी साढेलाई बलि दिने ठाउँमा लखेट्दै पुर्याउछन् र बली दिन्छन् ।
भूमि देवतालाई कुनै गाउँमा बोका, कुनै गाउँमा सुंगुर, कुनै गाउँमा भाले बलि दिन्छन् । कुनै गाउँमा जेठ मसान्त र कुनै गाउँमा असार १ गते बलि दिने चलन छ । यसरी लगातार एक हप्तासम्म भूमे नाच नाचिन्छ । (यो इतिहास मगर संस्कृती अध्ययेता संरक्षक तिलक रोकामगरको सहयोगमा तयार पारिएको हो ।)
भूमेको अवसरमा सांस्कृतिक महोत्सव
भूमे गाउँपालिकामा भूमे पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको छ । पर्वको अवसर पारी ‘हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा, कला संस्कृतिलाई जगेर्ना गर्ने हाम्रो अभियान’ मूल नाराका साथ पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको हो । महोत्सवमा सांस्कृतिक प्रतियोगिता पनि हुने गाउँपालिकाले जनाएको छ ।
महोत्सवमा भूम्या नाच, ढोङ्गे अर्थात् नचारु नाच, मयुर नाच, डिग्रे अर्थात पैसेरु नाच, फाँक र झोरेली नाच, लस्के गित, सिंगारु नाँच प्रतियोगिता सञ्चालन गरिने भएको छ । भूमे नाचमा प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र सान्तवना स्थान हासिल गर्नेलाई रु. २० हजार पुरस्कार प्रदान गरिने छ । यसैगरी ढोङ्गे अर्थात् नचारु नाचमा प्रथम हुनेलाई रु ७५ हजार, दोस्रोलाई रु ५० हजार, तेस्रोलाई रु ३० हजार र सान्तवना स्थान हासिल गर्नेलाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।
मयुर नाँचमा प्रथम स्थान हासिल गर्नेलाई ५० हजार, दोस्रो स्थान हासिल गर्नेलाई ३० हजार, तेस्रो स्थान हासिल गर्नेलाई २० हजार र सान्तवना स्थान हासिल गर्नेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै पैसेरु, फाँक, झोरेल्नी, लस्के र सिंगारु नाँच प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्नेलाई क्रमश समान पुरस्कार राशी ३० हजार, २० हजार, १० हजार र ५ हजार वितरण गरिने छ ।