रुकुम पूर्व: भूमे गाउँपालिकाले आयोजना गरेको १० किलोमिटर गुुरिल्ला अल्ट्रा ट्रेल दौडमा पुरुष तर्फ भूमे-२ जंगाधाराका आकाश रोका मगर र महिला तर्फ भूमे-२ खाबाङका प्रिया पुन मगर प्रथम हुनुभएको छ । १० किलोमिटरको तेस्रो संस्करणको गुुरिल्ला अल्ट्रा ट्रेल दौडमा पुरुष तर्फ प्रथम हुनु भएका रोका मगरले निर्धारित १ घण्टा १२ मिनेटमा दुरी पार गर्दै प्रथम हुँदा महिला तर्फ पुन मगरले निर्धारित १ घण्टा ४३ मिनेटको दुरी पार गर्दै प्रथम हुनु भएको हो ।

पुरुष तर्फ १ घण्टा १४ मिनेटको दुरी पार गर्दै भूमे-६ का रामकुमार बुढा मगर दोस्रो हुनुभएको छ । १ घण्टा  १४  मिनेट ३० सेकेन्डमा पार गरेर  भूमे-१ लुकुमका हिराधन घर्ती मगर तेस्रो र निर्धारित दुरी १ घण्टा १५ मिनेटमा पार गरेर पुथाउत्तरगंगा गाउँपालिका-१४ का कुमार पुन मगर सान्त्वना हुनु भएको आयोजकले जनाएको छ ।

यसैगरी पाँचौ देखि दसौँ स्थान हासिल गर्नेहरु क्रमशः भूमे-७ का रबिन रोका, सोही वडाकै सन्दीप बुढा मगर, भूमे-१ का बिलप्रसाद बुढा मगर, सोही वडाकै अमृत घर्ती, रोल्पा थबाङ गाउँपालिका-२ का सन्दीप रोका र थबाङ-१ का निर्माल रोका मगर रहनु भएको छ ।

यस्तै महिलामा दोस्रो १ घण्टा ४७ मिनेटमामा निर्धारित दुरी पार गरी भूमे-२ खाबाङका सम्झना बुढा मगर दोस्रो हुनु भएको छ भने निर्धारित दुरीमा १ घण्टा ४९ मिनेट पार गरेर भूमे-६ महतकी सुप्रिया बुढी मगर तेस्रो र २ घण्टा ९ मिनेटमा निर्धारित दुरी पार गरी भूमे-६ महतका सुनथामी बुढा मगर सान्त्वना हुनु भएको छ ।

१० किलोमिटर दौड भूमे-६ महतबाट सुरु गरिएकोमा गाउँपालिकाकै सेबाङपो-सानोलेक-कोइचा-खाबाङ तिला-मारिङ-खाबाङ गाउँ हुँदै खाबाङ बगरमा आएर सकिएको थियो । यस डौड तर्फ महिला/पुरुषलाई समान प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ७ हजार ५ सय, तेस्रोलाई ५ हजार र सान्त्वनालाई २ हजार ५ सय रुपियाँ सहित मेडल, प्रमाण पत्रको व्यवस्था गरिएको छ । भने पाँचौँ देखि दसौँ स्थान हासिल गर्ने प्रतियोगीलाई प्रतिव्यक्ति १/१ हजार सहित प्रमाण पत्र प्रदान गरिने छ ।

दौडको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष  सविना बुढा र नेकपा माओवादी केन्द्र भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामी लगायतको उपस्थिति रहेको थियो । १० किलोमिटरको दौडमा पुरुष तर्फ २५ र महिला तर्फ १२ जना गरी ३७ जनाको प्रतिस्पर्धा रहेको थियो ।                    यस प्रतियोगितामा रुकुम पूर्व र रोल्पाका खेलाडीको सहभागिता रहेको थियो । ५२ र १० किलोमिटरको गुरिल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
५२ किलोमिटरको डौड तर्फ प्रतियोगिहरु निर्धारित स्थान आउन बाँकी रहेको छ ।