रुकुम पुर्व: अठार मगरात क्षेत्रको महान पर्व भूमेको अवसरमा भूमे गाउँपालिकामा आयोजित चौथो भूमे सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘हाम्रो भूमे, हाम्रो पहिचानः स्थानीय भाषा कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित असार २ देखि सुरु भएको महोत्सव मंगलबार सकिएको हो । महोत्सव भूमे गाउँपालिका केन्द्र खाबाङबगरमा चलेको थियो ।
चौथो भूमे सांस्कृतिक महोत्सवमा गाउँपालिकाले विभिन्न ८ विधाका पुराना नाच तथा गीत प्रतियोगिता आयोजना गरेको थियो । ५ दिन सम्म चलेको महोत्सवमा भूमे नाच प्रतियोगिता तर्फ भूमे-६ महत प्रथम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार भूमे-२ काँक्री दोस्रो हुँदा भूमे-७ धर्मशाला तेस्रो र भूमे-३ क्याङ्सी सान्त्वना भएको छ ।
भूमे नाचमा ९ समूहले प्रतिस्पर्धा गरेका थिए । पुरस्कार राशी प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः नगद एक लाख, ७५ हजार, ५० हजार र २० हजार सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
यसैगरी नचारु नाचमा भूमे-३ क्याङ्सी प्रथम, सोही वडाको सिमा दोस्रो र भूमे-६ महत तेस्रो भएको आयोजकले बताएको छ । यस प्रतियोगितामा जम्मा तीन समूहको प्रतिस्पर्धा थियो । नचारु नाचमा प्रथम हुनेलाई ७५ हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई ३० हजार सहित कप, मेडल, प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
मयुर नाच तर्फ चार समूहको प्रतिस्पर्धा रहेकोमा रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबारा प्रथम हुँदा भूमे-२ खाबाङ बगर दोस्रो भएको छ । भूमे-८ कुचिबाङ तेस्रो र सोही वडाकै नाम्फू सान्त्वना भएको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः नगद ५० हजार, ३० हजार, २० हजार र १० हजार सहित कप, मेडल, प्रमाण पत्र प्रदान गरिएको छ ।
पैसेरु नाचमा ६ समूहको प्रतिस्पर्धा भएकोमा भूमे-९ चुनबाङ प्रथम, भूमे-३ क्याङ्सी दोस्रो, भूमे-६ स्याला सुर्पा तेस्रो र सोही वडाकै नाखेरुञ्ची सान्त्वना भयो । फाँक नाचमा चार समूहको प्रतिस्पर्धा भएको थियो । जसमा भूमे-१ लुकुम प्रथम, भूमे-३ क्याङ्सी दोस्रो, भूमे-६ महत तेस्रो र भूमे-२ खाबाङ सान्त्वना भएको छ ।
यसैगरी झोरेल्नी नाचमा दुई समूहले मात्र प्रतिस्पर्धा रहेकोमा भूमे-३ क्याङ्सी प्रथम र भूमे-६ महत दोस्रो भएको छ । सिङगारु नाच तर्फ तीन समूह बिच प्रतिस्पर्धा रहेकोमा सिस्ने-६ रुकुमकोट प्रथम, भूमे-३ झुम्लाबाङ दोस्रो र सिस्ने-५ रुमालबारा तेस्रो भएको छ ।
र लस्के गीतमा नौ समूह बिच प्रतिस्पर्धा भएकोमा भूमे-१ लुकुम महिला समूह प्रथम हुँदा भूमे-३ झुम्लाबाङ पुरुष समूह दोस्रो भएको छ भने भूमे-२ खाबाङ महिला समूह तेस्रो र भूमे-६ महत पुरुष समूह सान्त्वना भएको छ ।
पैसेरु, फाँक, झोरेल्नी, सिङगारु नाच र लस्के गीत प्रतियोगिताको पुरस्कार राशी प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार सहि तकप, मेडल, प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । उत्कृष्ट कला प्रदर्शनी तर्फ भूमे-६ का हेमबहादुर बुढा र भूमे-५ का सिता बुढालाई पुरस्कृत गरिएको भुमे गाउँपालिकाले जानकारी दिएको छ ।
उत्कृष्ट वाद्यबादन तर्फ भूमे-३ का दलबिर नेपालीलाई पुरस्कृत गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कार वितरण गर्नुभएको छ ।