रुकुम पुर्व: रुकुम पुर्वको सिस्ने गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ। सोमबार सिस्ने ५ का भक्तबहादुर पुनलाई वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतिको निस्सा प्रदान गरि सेवा सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले र उपाध्यक्ष गोपाल रेउलेले पुनलाई पुनः श्रम स्वीकृतिको निस्सा प्रदान गर्नुभयो । पुन गाउँपालिकाबाट पुनः श्रम स्वीकृति प्राप्त गर्ने पहिलो ब्यक्ति बन्नुभएको छ । गाउँपालिकाको रोजगार शाखाबाट उहाँले श्रम स्वीकृतिको निस्सा प्राप्त गर्नुभयो ।
आफनै गाउँपालिकाबाट वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृति सेवा पाउँदा खुसी लागेको पुनले बताउनुभयो । आवश्यक कागजात पूरा गरि रोजगार शाखामा पेश गरेको दुई दिनभित्र श्रम स्वीकृति उपलब्ध गराउन सकिने रोजगार संयोजक विनोद विकले जानकारी दिनुभयो ।
उहाँकाअनुसार श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता र इमेल आइडी, सम्पर्क नम्बर , रोजगारदाताले दिएको सम्झौतापत्रसहित गाउँपालिकामा निवेदन दिन सक्नेछन् ।
गाउँमै अब श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन पाइने भएपछि श्रम स्वीकृति लिन काठमाडौ जानु पर्ने बाध्यता हटेको छ ।
स्थानीय तहबाटै श्रम स्वीकृति वितरण सुरु गरिएपछी नागरिकको पैसा र समय दुबै बचत हुने गाउँपालिका अध्यक्ष रेग्मीले बताउनुभयो । रेग्मीले केन्द्र सरकार मातहतका कार्यालयबाट प्रदान हुँदै आएको सेवा स्थानीय तहबाट वितरण हुनु खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।
रेग्मीका अनुसार गाउँपालिकाले रोजगार सेवा केन्द्रका रोजगार संयोजक र रोजगार सहायकको सहयोगमा निःशुल्क आवेदन दिन सकिने व्यवस्था गरेको छ । यो व्यवस्थाले श्रमिक र पालिका दुवैलाई फाइदा हुने उहाँले अपेक्षा गर्नुभएको छ ।
गाउँपालिकाबाट आवेदन दिँदा कति श्रमिक वैदेशिक रोजगारीमा गए । कुन सीप सिकेका जनशक्ति बाहिरिए । त्यो तथ्याङ्क राख्न पनि सहयोग पुग्ने हुँदा श्रम स्वीकृति वितरण सेवा सुरु गरिएको उपाध्यक्ष रेउलेले बताउनुभयो ।
यस्तै कुन वडाका कति नागरिक कुन देशमा कस्तो कामका लागि वैदेशिक रोजगारीमा गए भन्ने तथ्यांक राख्न र अप्ठ्यारोमा परे उद्धारका लागि पहल गर्न सहज हुने रेउलेले बताउनुभएको छ । त्यसैले पनि सकेसम्म वैदेशिक रोजगारीमा जानेले गाउँपालिकाबाट श्रम स्विकृती लिन उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले २०७९ चैत १६ गते स्थानीय तहमै श्रम स्वीकृती दिने निर्णय गरेको थियो । देशका कतिपय स्थानीय तहले उक्त निर्णय २०८० बैशाख ३ गतेबाट कार्यान्वयनमा ल्याएका थिए । तर सिस्ने गाउँपालिकाले भन्ने सोमबारबाट उक्त निर्णय कार्यान्वयन ल्याएको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे, सहज र ठगिरहित बनाउन सरकारले स्थानीय तहबाटै श्रम स्वीकृती दिने व्यवस्था गरेको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।