रुकुम पूर्वको सिस्ने र भुमे गाउँपालिकाको विभिन्न ठाउँमा पानी परिक्षण गर्दा इकोली(दिशा मिसिएको) पाइएको छ । यी दुइ वटा गाउँपालिकाको विभिन्न ठाउँको मुहानमा गरिएको पानी परिक्षणमा कतीपय ठाउँको मुहानमा इकोली देखिएको छ भने कतीपय ठाउँमा मुहान सफा देखिएपनि मुहानदेखी धारासम्म पुग्दाको अवधिमा प्रशस्त मात्रामा इकोली देखिएको छ ।
सिस्ने र भूमे गाउँपालिकाको विभिन्न ठाउँमा पानी परिक्षण गरेर त्यसको नतिजा आइसकेपछि आज खानेपानी गुणस्तर निगरानी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालय रुकुम पूर्वले सरोकारवालाहरुलाई जानकारी गराएको हो । स्वास्थ्य कार्यालयले गरेको पानी परिक्षणको प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निमप्रसाद गिरीले भूमे गाउँपालिकामा भन्दा सिस्ने गाउँपालिकाको पानीमा धेरै इकोली देखिएको जानकारी गराउनुभयो ।
उहाँकाअनुसार भूमे गाउँपालिकाको ८ वटा ठाउँको पानी परिक्षण गरिएको थियो । जसमा तीन ठाउँको मुहानमा इकोली देखिएको छ भने ६ वटा ठाउँको पानी सफा देखिएको छ । सिस्ने गाउँपालिकामा भने ८ ठाउँको पानी परिक्षण गरिएको थियो । जसमा ७ ठाउँको पानीमा इकोली देखिएको छ । सिस्ने गाउँपालिकाको अमलाचौरको ट्याकीं, स्वास्थ्यको धारा, भक्तराज घरको धारा, लुस्पा धाराको मुहान र धारा बिचमा बग्ने पानी, लुस्पाको धारामा, स्वास्थ्य कार्यालयको धारामा र सिस्ने पधेराको धारामा इकोली देखिएको छ । परिक्षण गरिएकामध्ये लुस्पा मुलको पानी मात्र सफा देखिएको छ ।
यस्तै भूमे गाउँपालिकाको बरमायाको घर, काँक्रि स्वास्थ्यको धारा, खाबाङमा पुरानो धारामा इकोली देखिएको छ भने लुुकुम बजार सडक छेउको पानी, स्कुल धारा, काँक्रि बजार, काट्ने खोला, बोर्डिङको धाराको पानी सफा देखिएको ल्याब टेक्निसियन निरीक्षक गिरीले जानकारी गराउनुभयो ।
उहाँकाअनुसार पानीमा धमिलोेपना, पिएच, करेन्ट सप्लाई हुने क्षमता, पानीमा ठोस घोलित पदार्थ, इकोली जाँच गरिन्छ । परिक्षण गरिएको पानीमा धमिलोेपना, पिएच, करेन्ट सप्लाई हुने क्षमता, आर्सेनिक ठिक छ । मानविय गतिविधि बढी हुने ठाउँमा इकोली बढी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पानीमा इकोली भेटियो भने इकोलीले मानव स्वास्थ्यमा खासै असर नगर्ने तर इकोली भेटियो भने मानिसमा लाग्ने पानीजन्य विभिन्न रोगका किटानुहरु प्रशस्त मात्रामा छन् भन्ने बुझ्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
एक ग्राम दिशामा एक करोड भाइरस, १० लाख ब्याक्टेरीया, एक हजार प्यारासाइट जुका, एक सय जुकाको अण्डा पाइन्छ । फोहोर पानीको कारण टाइफाइड, प्यारा टाइफाइड, सालमोन्यालोसिस, सिल्गोल्लोसिस, ब्यासिल्लारी आँउ, हैजा, हेपाटाइटिस, पोलियो, रोटा भाइरस, झाडापखाला, जाइडिया, आउँ लगाएतका रोगहरु लाग्ने गर्दछन् । यस्ता रोगहरुबाट बच्नको लागि शुद्ध पानी पिउन आवश्यक छ ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले अहिलेसम्म खानेपानीको पहुचको काम र कुरा मात्र हुने गरेको बताउदै अब शुद्ध र सुरक्षित पानीको पहँुचको कुरामा जोड दिनुपर्ने बताउनुभयो । जिल्लामा निर्माण हुने विभिन्न खानेपानीका संरचना पनि भरपर्दो र सुरक्षित छैनन् । आवश्यक बजेट हुदैनन् । मानिसको आनीबानीमा परिवर्तन नहुँदा सुरक्षित पानीको प्रयोग हुन सकेको छैन् । विशेष गरी स्थानीय सरकार, खानेपानी कार्यालय, इन्जिनीयर, खानेपानी उपभोक्ता समिति लगाएतको समन्वय अभाव र जनचेतनाको कमीको कारण शुद्ध पिउने पानीमा चुनौती देखिएको छलफलको निष्कर्ष छ । अब खानेपानी योजनाको निर्माण गर्दा सुरक्षित मुल, पक्कि मापदण्डअनुसारको संरचनामा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, जिल्ला प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठ, सिस्ने गाउँपालिका ५ का वडाध्यक्ष विरेन्द्र बस्नेत, ६ नम्बर वडाध्यक्ष पूर्ण बहादुर मल्ल, रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्रराज कोइरालासँगै गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक, गाउँपालिकाका इन्जिनीयर, खानेपानी उपभोक्ता समितिका अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमका संचालन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक श्यामसुन्दर चौधरीले गर्नुभएको थियो ।