रुकुमकोट: रुकुम पश्चिमका पत्रकाहरुको दुर्घटना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आबद्ध साधारण सदस्यहरु तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गरि दिएको हो ।

जिल्लामा सक्रिय ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरिएको महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । समाचार संकलनका क्रममा विभिन्न जोखिमहरु मोलेर फिल्डस्तरमा खटिने पत्रकारहरुको बिमा गरिएको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार बिमाका लागि पत्रकारहरुले कुनै शुल्क तिर्नु भने परेको छैन ।

मुसीकोट नगरपालिकाको सहयोगमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको दुर्घटना बिमा गरिएको उहाँको भनाइ छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५४ जना पत्रकारहरुको ५४ लाख बराबरको दुर्घटना बिमा गरिएको छ । एकमुष्ठ रुपमा पत्रकारहरुको दुर्घटना बिमा गरिएको हो ।

यस कार्यले जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकाहरुलाई कामको लागि थप प्रोत्साहन हुने विश्वास लिइएको अध्यक्ष केसीले स्पष्ट पार्नुभयो । नयाँलाई आकर्षण र क्रियाशिल पत्रकारहरुलाई यस पेशामा टिकाउन शाखाले दुर्घटना बिमाको कार्यक्रम अघि सारेको हो । शाखाले नयाँ पत्रकार उत्पादन र क्रियाशिल पत्रकारहरुको क्षमता विकासका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पत्रकारिता पेशामा आकर्षण बढाउन र पेशामा टिकाई राख्न महासंघसँगको सहकार्य अनुसार दुर्घटना बिमाको लागि सहयोग गरिएको बराउनुभयो । सन्चारकर्मीहरुले स्थानीय सरकारका राम्रा पक्षहरुको सकारात्मक प्रचार र सुधार्नुपर्ने पक्षहरुको निरन्तर खबरदारी गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

जनतालाई सहि सूचना दिन अहोरात्र खटिने पत्रकारहरुको क्षमता विकास र पेशाप्रतिको दिगोपनाका लागि स्थानीय सरकार सधै तयार रहेको नगर प्रमुख केसीले बताउनुभएको छ ।