मानिसदेखि लिएर पशुचौपायसम्मलाई देवी देउता तथा भूत प्रेत लाग्यो भने धामी झाक्रिले झारफुक गर्छन् । रुकुम(पूर्व) मै यस्ता ठाउँ पनि छन् जहाँ स्वास्थ्य संस्था भन्दा पनि धामी झाक्रिको उपचारलाई भरपर्दोे मान्छन् ।
यहि जिल्लाको एउटा ठाउँ यस्तो पनि छ जहाँ अन्य बेलामा झारफुकको काम गर्ने झाक्रिहरुले वर्षमा एक पटक मेला महोत्सव लगाउछन् । त्यो ठाउँ हो रुकुम(पूर्व) को भूमे गाउँपालिका १ लुकुम ।
यसै वर्ष साउन ४ गते बिहिबारका दिन लुकुममा झाक्रि नाँच नाचिएको छ । यस नाँचलाई राके तिवार अर्थात झाक्रि राम पनि भनिन्छ । साउने संक्रान्तिलाई अठार मगरात क्षेत्रमा तिवार र राँके पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन् ।
यसै अवसर पारेर लुकुम गाउँमा हरेक बर्षको साउन महिनाको पहिलो हप्तामा कुनै एक दिनमा सबै थरीका झाँक्रीहरू मिलेर ज्यास पलेन्ये रम्मा राम बनाउने र मान्ने गर्दछन् । लकुममा बसोबास गर्ने सबै थरबाट एकजना झाक्रिले अनिवार्य रुपमा झाक्रि मेलामा सहभागिता जनाउनुपर्ने मान्यता रहिआएको स्थानीय बताउछन् ।
जम्मा भएका झाँक्रीहरूले एक अर्काको ग्रहदशा फार्ने, हेराहेर गर्ने गर्दछन् । भने गाउँका युवायुवती राम्चेहरू र झाँक्रीका चुन्मी वा भान्जहरूका बिचमा एकअर्कालाई सिस्नो हानाहान गरेर अति रमाइलो गर्ने परम्परा रहेको छ । यस झाक्रि नाँचमा सिस्नो किन हानिन्छ, कहिलेबाट यो परम्परा सुरुवात भएको हो भन्ने कुरालाई अहिलेसम्म कसैले पनि लीपीबद्ध गरेको पाइदैन् । तर स्थानीयलाई बुझ्दा फरकफरक भनाइहरु आउने गरेका छन् ।
कतीपयले सिस्नो हान्नु भनेको शरीरमा रहेका अदृश्य भूतप्रेतलाई धपाउनु हो भनेका छन् । कतीपयले पहिले यउटा ठुलो महामारीजन्य रोग लागेर यहाँका मान्छेलाई धेरै सताएको र पछि सिस्नो हानेपछि रोग हराएको भन्ने पनि गरेका छन् । यसको गहिराइमा पुग्न अली धेरै अध्यन अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
झाक्रि नाँचको एउटा कथन छ,
धेरै पहिले लुकुम गाउँमा बोक्सीहरूले अति सताउँदा भैरम झाँक्रीको उत्पत्ति भएको र तीनै भैरम झाँक्रीले आफ्नो अलङ्कारिक बस्त्रका साथ ढ्याङ्ग्रो बजाउँदै नाच्दै र तन्त्रमन्त्रले नचाईनचाई तिनै बोक्सीहरूलाई सदाको लागि जमिन मुनि धसिदिएर ठूलो ढुङ्गाले च्यापेर आफू पनि सदाको लागि अल्पिएको भन्ने सुनिन्छ । त्यही दिनको उपलक्ष्यमा त्यही बोक्सीहरूलाई गाडेकै ठाउँमा हेरक बर्ष झाँक्री मेलाको आयोजना गर्ने गरिएको त्याँहाका स्थानीयले बताएका छन् ।
झाक्रि नाँचको दिनमा झाक्रिको सहयोगि (चुम्मि)को रुपमा मुख्य मान्छे भान्जलाई लिइदो रहेछ । घरबाटै निस्कनुपूर्व भूतप्रेतले केहि नगरोस भनेर झाक्रिले तन्त्रमन्त्रद्धारा आफ्नो र भान्जको शरिर बाध्ने गर्छन् । भान्जले यो काम गर्दैन् भन्न नि नपाउने रहेछ । त्यसपछि भान्जले झाक्रिको सामान बोकेर मादै(नाच्ने) ठाउँमा गई आगो बालेर ढ्याङ्ग्रो तताउने र नाच्ने गर्दछन् । त्यसको केहि समयपछि झाक्रि आउने र झाक्रिहरु पनि पहिले भाडा नलगाएर ९ फान्को नाच्ने र त्यसपछि भाडा लगाएर फेरी ९ फन्का नाचेर खोलामा राक्से(भूत प्रेत) निकाल्न जान्छन् ।
खोलाबाट राक्से निकालेर आएपछि राक्षशको टाउकोमा सुरा ठोकिन्छ । त्यस लगत्तै उनिहरु दौडेर घरघरमा गएर कुुखुराको टाउको छिनाएर रक्सि खानेले एक बटुको रक्सि र रक्सि नखानेले पानी खाने गर्दछ्न । त्यसपछि एउटा कुखुरा सन्तानभरीको घरमा डुलाएर झोलेनी बिसौनामा गएर दातैले टाउको छिनाएर रगत खान्छन् । त्यसै ठाउँमा आफ्ना आफ्ना थरकाले रक्सि, रोटी सेल लगेका हुन्छन्, त्यहि खान्छन् । त्यहाँबाट आएर एउटा घरमा जम्मा भई साग खान्छन् । पनि थर्की(थला)मा आएर नाँची आफ्नो आफनो थरको मुख्य झाक्रिको घरमा जम्मा भई फोरी अर्को कुखुरा खाएर घरमा जान्छन् ।
अनी आजको दिनमा झाक्रिका भान्जहरु झाक्रि चालामा नाच्ने र हिलो हानेर हिलाराम मेला बनाउने गर्दछन् । हिजोको दिनमा टाउकोमा सुरा खोपेको राक्षशले मान्छेलाई फेरी नभेटोस, नचिनोस र नराम्रो नहोस भनेर हिलो छ्यापेर मान्छेलाई नचिनिने बनाईन्छ ।
यस ठाउँमा यो एउटा परापूर्वकालदेखि मानिदै आएको परम्परा हो । यस परम्पराले पर्यटनको क्षेत्रलाई पनि टेवा पुर्याउदै गएको छ । यस परम्परालाई पर्यटनको रुपमा विकास गर्न र बचाइराख्न स्थानीय सरकारले पनि हातेमालो गर्दै गएका छन् ।