रुकुमकोट: सकम्बरी गितको अपार सफलता पछि लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत आफ्नो नयाँ सिर्जनाका साथ उपस्थित हुनु भएको छ । उहाँको पछिल्लो गीत ‘दमाई महाराज’ शुक्रबार यूट्युबबाट सार्वजनिक भएको छ ।

उसो त यो गीतमात्र नभएर एउटा कथा सहितको भिडिओ हो । ‘बोलमाया’ र ‘गलबन्दी’ को तेस्रो भागका रुपमा सपुतले यो भिडिओ ल्याउनु भएको छ । यद्यपि, भिडिओको कथावस्तु र गीतको धार नितान्त फरक छ ।

सपुतले धर्मलाई केन्द्रमा राखेर भिडिओ निर्माण गरेको देख्न सकिन्छ । जसमा जातीय भेदभावको परम्परामाथि प्रहार गरिएको छ ।

सपुत एउटा पुराणवाचक पण्डितको भेषमा देखिनु भएको छ । मन्दिर पुन: निर्माणका लागि आयोजना गरिएको एउटा सप्ताहमा उहाँ पुराण भन्न आउनुहुन्छ । सप्ताहकै सेटभित्र सबै दृश्य खिचिएको छ । भिडिओको कथालाई बोलमायाको कथासँग जोडेर जातीय छुवाछूतको मुद्दालाई उठान खोजिएको छ ।

विगतका भिडिओमा जस्तै सपुतले यसको पनि मेकिङमा निकै खर्च र मेहनत गर्नुभएको छ । गीतका शब्दहरु सपुत आफैंले लेख्नु भएको भने संगीत पनि उहाँकै हो । गायनमा उहाँलाई गायिका शान्तिश्री परियारले साथ दिनुभएको छ । यद्यपि, शान्तिश्रीको हिस्सामा धेरै परेको छैन ।

भिडिओको कथा र निर्देशन पनि सपुतकै रहेको छ । भिडिओमा मोडलद्वय गरिमा शर्मा र गीता ढुंगानाको उपस्थितिले सुनमा सुगन्ध थपेको देखिन्छ । अञ्जली अधिकारी भने एक झलकमात्रै देखिनु भएको छ ।

यो कमर्सियल गीत होइन, यद्यपि दर्शक-स्रोताले रुचाउन सक्छन् । सपुतले सधैं झैं अर्को नयाँ स्वाद पस्कनु भएको छ ।