रुकुम(पूर्व) मा मेडिकलहरु अव्यवस्थित रुपमा संचालन गरेको पाइएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ को विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमण गर्दा विभिन्न समस्याहरु देखिएका छन् । आज सोमबार बजार अनुगमन गर्ने क्रममा चार वटा मेडिकल, एउटा टेन्टल क्लिनिक र दुइ वटा एग्रोभेटको अनुगमण गरिएको थियो । अनुगमणको क्रममा मेडिकलहरुमा विभिन्न किसिमका कमजोरीहरु भेटिएको रुकुम(पूर्व) अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार सिस्ने गाउँपालिका ६ छिप्रीदहमा रहेको प्रकाश मेडिकलमा ल्याब कक्ष व्यवस्थित नभएको, सरसफाईको अभाव, अनुमति नलिएर आयुर्वेदिक तथा फुड सप्लिमेट्री सामानहरु बेच्ने गरेको, फार्मेसी तर्फ दक्ष जनशक्तिको अनुपस्थिती रहेको पाइएको छ । यस्तै बिना तापक्रम मेन्टेन फ्रिजमा टिटी खोप राखेको, लागू औषध तथा मनोदिपक औषध खरिद र विक्रिको अभिलेख नराखेको र मेडिकल नविकरण नगरेको लगाएतका समस्याहरुको पाइएको डाक्टर कोइरालाले बताउनुभयो ।
छिप्रीदहमै रहेको अर्को मनज्ञा सिटी हस्पिटलमा पनि ल्याब सेवा व्यवस्थित रुपमा सञ्चालनमा नरहेको, अनुमतीबिना आयुर्वेदिक तथा कस्मेटिक र फुड सप्लिमेट्री सामानहरु बिक्रि गर्ने गरेको, रेबिज विरुद्धको र टिटी खोप बिना तापक्रम मेन्टेन राख्ने गरेको पाइएको अनुगमण टोलीले जानकारी दिएको छ । यस्तै डिग्रे शाइकुमारी मेडिको फर्मामा अनुमतिबिना आयुर्वेदिक सामान बिक्रि, भ्याक्सिन भण्डारण नमिलेको, नार्कोटिक औषधी बिक्रिवितरण गरेको भएपनि यसको अभिलेख नराखेको, अव्यवस्थित रुपमा एक्सरे सेवा सञ्चालनमा रहेको लगाएतका समस्या रहेको अनुगमण टोलीमा रहनुभएका रुकुम(पूर्व) अस्पतालका फार्मेसी अधिकृत चतुर्भुच धनाडीले बताउनुभयो ।
उहाँकाअनुसार सिस्ने गाउँपालिका ५ चोकबजार स्थित क्लोनिकाको अगाडी रहेको मेडिकलमा साइनबोर्ड पनि नराखिएको, टिनको छाप्रोमा मेडिकल संचालन गर्दै आएको पाइएको छ । दर्ता नविकरण पनि नभएको र बिरामी राख्ने, चेकजाँच गर्ने ठाउँ तथा औषधी राख्ने गाउँ पनि राम्रो नभएको अनुगमण टोलीले बताएको छ ।
सिस्ने ६ मा रहेको दुई वटा एग्रोभेटमा पनि अनुगमण गरिएको छ । ओली एग्रोभेट एण्ड सप्लायर्स र केसी एग्रोभेटमा अनुगमण गरिएको छ । जहाँ एग्रोभेटमा विषादी र पशुजन्य औषधीहरु एकै ठाउँमा राखेको, सरसफाइको अभाव रहेको पाइएको अनुगमन टोलीमा रहनुभएका एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका पशु अधिकृत छविलाल घर्तीले जानकारी दिनुभयो । उहाँकाअनुसार केसी एग्रोभेटमा भने साइनबोर्ड पनि नराखेको पाइएको छ ।
यसैगरी अनुगमनका क्रममा खाद्यान्न तर्फ ५ वटा पसल अनुगमण गरिएको थियो । १७ सय बराबरको म्याद गुज्रिएको बिस्कुट बरामद गरी नष्ट गरिएको छ । यसैगरी ६ बोरा म्याद गुज्रिएको चामल भेटिएको छ ।
अनुगमणको क्रममा कैफियत भेटिएका सबै मेडिकल, एग्रोभेट तथा पसलहरुमा आवश्यकताअनुसार सल्लाह सुझाव दिइएको छ । सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) र घरेलु तथा साना उद्योग कार्यालय रुकुम(पूर्व) को संयुक्त आयोजनामा आज मेडिकल र खाद्यान्न पसलको अनुगमण गरिएको हो ।