रुकुमकोट: रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ११ सेरामा आयोजित पुरुष भलिबल प्रतियोगितामा रुकुम पश्चिम विजेता बनेको छ । राँके मेलाको अवसरमा हिमालय श्रृंखला चौरी युवा क्लबले सेरामा आयोजना गरेको प्रतियोगितामा रुकुम पश्चिम विजेता बनेको हो ।
बुधबार भएको फाइनल खेलमा बाग्लुङको निसिखोला जनजागरण युवा क्लवलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै रुकुम पश्चिम विजेता बनेको आयोजक क्लबका अध्यक्ष लक्षण बुढामगरले जानकारी दिनुभयो ।
२–० ले पछि परेको रुकुम पश्चिमले त्यसपछिका तीन सेट लगातार जितेको थियो । विजेता रुकुम पश्चिमले नगद १ लाख रुपैयाँ सहित १० तोला चाँदीको रनिङ शिल्ड प्राप्त गरेको छ । फाइनलमा पराजित जनजागरण युवा क्लवले ५० हजार नगद सहित टर्फिमा चित्त बुझाएको छ ।
यस्तै कर्णाली प्रदेश तृतिय भएको छ । उसले नगद २५ हजार र कप पुरस्कार पाएको छ । पुरुष भलिबलमा रुकुम पूर्व, रुकुम पश्चिम र बाग्लुङका गरी ८ टिमले प्रतिस्पर्धा गरेका थिए । यस्तै महिला भलिबल तर्फको उपाधी बाग्लुङको निसिखोलाले जितेको छ । उसले नगद ५५ हजार र रनिङ शिल्ड हात पारेको छ ।
महिला भलिबल तर्फ कर्णाली प्रदेश द्धितिय तथा स्थानीय सेराको टिम तृतिय भएको छ । महिला भलिबलमा द्धितिय र तृतिय हुने टिमलाई नगद पुरस्कार प्रदान गरिएको छ । राके मेलाको अवसरमा खुला पुरुष, महिला भलिबल, फुटसल, दोहोरी गित, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।