रुकुम(पूर्व) मा डेङ्गुको महामारीबाट बच्न सचेतना अभियान सञ्चालन गरिने भएको छ । जिल्लामा समुदाय स्तर र विद्यालय स्तरमा डेङ्गु रोगबाट बच्नको लागि सचेतना अभियान सञ्चालन गरिने भएको हो । रुकुम(पूर्व) मा मंगलबार एक जनामा डेङ्गु पोजेटिभ देखिएपछि बुधबार सरोकारवालाहरुको उपस्थितीमा छलफल गरि रोग नियन्त्रणको लागि सबै सरोकारवालाहरुको सहयोगमा समुदायस्तर र विद्यालयस्तरमा सचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

पाँच बेड भएको जिल्ला अस्पताल भएको रुकुम(पूर्व) मा डेङ्गुको महामारी फैलियो भने परिक्षण, उपचारमा समस्या हुने भन्दै रोकथाम र नियन्त्रणलाई बढी जोडबल दिएर सचेतनामुलक अभियान सञ्चालनमा सबै एकजुट भएका हुन् । आज जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) मा प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्माको अध्यक्षतामा बसेको विपद तथा डेङ्गु व्यवस्थापन सम्बन्धिको बैठकले अभियानलाई लिएर विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले लमखुट्टेको बासस्थान र फुल पार्न सक्ने ठाउँहरु घर, पसल, विद्यालय, कार्यालय वरपरका पानी जम्न सक्ने ठाउँ, भाँडा, कवाडी, टायर, प्लाष्टिक, सिसाका बोतल, गमला, शिक्षण संस्था, सार्वजनिक स्थान आदीमा पानी जम्न नदिन र पुरै शरिर ढाक्नेगरी कपडा लगाउन अनुरोध गर्ने निर्णय गरिएको छ । स्थानीय तह एवम् अन्य सरोकारवालाहरुको समन्वयमा जिल्ला, स्थानीय र वडा तह तथा शिक्षण संस्था, टोल बस्तिमा लामखुट्टे खोज र नष्ट गर अभियानलाई तत्काल सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यसैगरी यूनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) क्लष्टरले जानकारीमुलक पर्चा पम्प्लेट छपाइमा सहयोग गर्ने र ती पर्चा पम्प्लेट समुदाय, विद्यालयमा वितरण गरिने छ । सर्वाङ्गिन विकास केन्द्र नेपाल रुकुम(पूर्व) ले डेङ्गु परिक्षणको लागि दुई सय किट उपलब्ध गराउने बताएको छ । लामखुट्टे खोज र नष्ट गर तथा सचेतनामुलक अभियानमा जिल्ला सदरमुकाम रहेको ठाउँ रुकुमकोटमा तीन वटा क्लष्टर निर्माण गरेर अभियान चलाइने छ भने ३१ वटै वडामा वडाध्यक्षको नेतृत्वमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी, उद्योग बाणिज्य संघ, सरोकारवाला सबैको उपस्थितीमा एकै पटक साउन शुक्रबारका दिन बिहान ७ बजेबाट सुरु गरिने छ ।

विद्यालयस्तरमा भने सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकाका विद्यालयमा २१ गते आइतबारका दिन सचेतना अभियान संचालन गरिने छ । भूमे गाउँपालिकाका विद्यालयमा भने बर्खे बिदा चलिरहेको छ । विद्यालय र समुदाय स्तरमा यो अभियान साउन र भदौको महिनाभरी संचालन भइरहने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का प्रमुख नारायण प्रसाद चौधरीले बताउनुभयो । डेङ्गु परिक्षणको लागि किट अभाव भएमा किट खरिदमा सहयोग गर्ने सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले प्रतिबद्धता जनाउनुभएको छ ।

रुकुम(पूर्व) मा मंगलबार मात्र मोरङ घर भई व्यापारको शिलशिलामा रुकुम(पूर्व) मा पुगेका ५१ वर्षका तिलक बहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको थियो । जिल्लामा डेङ्गु पोजेटिभ बिरामी भेटिएपछि सतर्कतास्वरुप सरसफाइ र सचेतनामुलक अभियानलाई जोड दिइएको छ ।