
तिलक रोका मगर
नेपाल विविध साँस्कृतिक, विविध भाषिक र विविध जातिले ओगटेको देश हो । जहाँ अनगिन्ती पर्यटकीय सम्भावनाहरू पनि छन । संस्कृति मानव सभ्यतासंग जोडिएको छ त्यही सभ्यतासंग जोडिएको रुकुम पूर्व भूमे गाउँ पालिकाको एक संस्कृति हो हरेली ।
सीमा गाउँ विस्तारको इतिहास
जतिखेर मानवको उत्पत्ति भयो मानिस घुमन्ते जीवन संगै खोलानाला, वनजंगल र ओडारहरुमा वसेर आफ्ना जीविकोपार्जन गरेको इतिहास प्रशस्तै भेटिन्छ । जतिखेर घुमन्ते जीवन थियो त्यतीखेर कुनै ठुला झुप्प गाउँको विस्तार भएको थिएन, त्यही समयमा पानि जोख्दै, पारीलो घाम खोज्दै सीमा गाउँको तल्लो भेग सीममा मैकोईवाट आएको राँगु पुनले आफ्नो वसाई विस्तार गर्छन् । केही समय पछि कारीवाट रामजाली रोका र केही दलीत पनि त्यही ठाउँमा वसाई गर्न आउछन् । केही वर्ष पछि पोन,बुढा, रोका र दलित वस्ति वसेको तल्लो टाकुरीमा मगर राजा वसेको हुन्छ ।
खोलाको छेउ र वस्न अलि अप्थ्यारो ठाउँ भएकोले सो मगर राजा आफ्ना दल वलका साथ सीमको माथी भूईचाले भन्ने ठाउँमा दरवार वनाएर वस्छन् । समय वित्दै जान्छ राजा राहुका दुई भाई छोरा सहित सवै दल वलको खस राज्यले आक्रमण गरि भूईचालेवाट लखेटदै राजा राहुलाई त्यही सीम वस्तिको नजिक धनुष वाणले निर्ममता पूर्वक हत्या गरि सम्पूर्ण वंश नाश गरिदिन्छन् । राजा राहू बाँसको भित्र लुकेर बसेको बेला खस राज्यको धम्किले एक बुढा मगरले सिकाएत गरेको कारण राजा राहु पनि मारिएको कुरा वताउनु हुन्छ सीमा गाउँका जान्कार उदिम पुन मगर ।
समय वित्दै जाने क्रममा त्यस सीमको वस्तिमा दिन प्रतिदिन मानिस बिरामी हुन्छन् । कारीवाट आएका झाँक्री कम्फु रम्माले यो ठाउँमा राजा राहू थानीको रुपमा प्रेत रुपधारण गरेकोले सो वस्ति सार्नु पर्ने भन्छन् । उनी सीमा गाउँलाई वचाउन हर प्रयास गर्छन अन्तमा समस्या पत्ता लगाएपछि खेतको मुनी छहरामा गएर वलप हुन्छन् । गाउँका वुद्बीजीविको सल्लाह वमोजिम सीमको वस्ति सवै गाउँको माथि सार्ने निर्णय हुन्छ । वस्ति सार्नुको कारण बसेको वस्ति उब्जिलो हुने, गर्मीका कारण औलो रोग लाग्ने र अर्को प्रेतले नसतावस भन्नु नै थियो ।
हरेली पर्वको इतिहास
तल्लो सीमवाट आफ्नो वसाई माथिल्लो भेगमा सारेपछि तल्लो सीमको वरीपरि सवै खेत वनाउँछन् । खेतमा विउ जमाउन समय जेठको पहिलो हप्ता हुन्छ, बिउ जमाईसकेपछि असारको पहिलो हप्ता धान रोपी सक्नु पर्थ्यो तर त्यस पटक भने पानी परेन र भैरम खोलावाट लिएको पानीले बिउ जमाउनलाई मात्र पुग्यो । सामान्य परेको पानीले खेतको वरीपरि मात्र हरियाली भयो भने खेत खाली भयो । यसरी खेत नाङ्गै भएपछि गाउँको सर सल्लाह वमोजीम जल देवता र भूमी देवतासंग पानि माग्छन् । यसरी भूमी पुजा र जल पुजा गरेपछि श्रावणको पहिलो हप्ता पानि पर्छ र खेत लगाएपछि श्रावणको दोस्रो हप्ता खेत सवै हरियाली वन्छ । त्यसै समयदेखी गाउँका मुखिया भद्र भलाद्मीको सर सल्लाह वमोजिम १५ गतेदेखी २१ गते सम्म जुन दिन आईतवार पर्छ त्यही दिन भूमे पुजा गर्दै हरेली पर्व मान्न शुरु गरिएको इतिहास वताउनु हुन्छ सीमाको जान्कारहरु ।
हरेली पर्व हरियालीवाट नामाकरण भएको पाईन्छ । हरेली भनेको हरियो, हराभरा भन्ने वुझिन्छ । सीमवाट आफ्नो बस्ति विस्तार गरेको कारण सीमवाट सीमा गाउँको नामाकरण भएको कुरा वताउनु हुन्छ जान्कारहरु ।
कसरी गरिन्छ भूमे पुजा
भूमे पुजा अन्य ठाउँमा एक पटक गरिन्छ भने सीमा र क्याङसी गाउँमा भने २ पटक गरिन्छ । यसको पनि आफ्नै इतिहास छ । जेठ मसान्तको दिन वा असारको एक गते पनि भूमे पुजा गरिन्छ त्यो भूमे पुजा वाढी पहिरो वाट वच्न, रोग व्याधी हटाउन र वालिनाली राम्रो हुन गरिन्छ भने यस पटकको भूमे पुजा भने पाकेको वालिमा किरा फट्याङ्ग्रा, मुसाले वालीनाली क्षती नगरुन भनी गरिन्छ ।
अर्को कुरा वालिनाली पाकेपछि वालीनाली वनाउन खेत वारीमा गएको वेला सर्प, छेपारो,विछी, गंगटो आदीले मानिसमा कुनै क्षति नगरुन भनेर गरिन्छ, तसर्थ यस समयको पुजामा जमिनसंगै जमिन भित्र वस्ने किरामिरा र साँप सर्प सवैलाई पुजा गर्ने चलन छ ।
सिमा गाउँको भूमे पुजा वा हरियाली पर्व भने पृथक छ । श्रावण महिनाको शुरुवातसंगै जव श्रावणको १५ देखी २१ गते सम्म आइतवार आउछ त्यही अघिल्लो शनिवारका दिन खेत वारीमा भोकर वा थारम गाड्ने चलन छ । भोकर कुनै गाउँमा मेल र कुनै गाउँमा भलायोको वनाइन्छ । भोकरमा चारे ढुँगा र कालो रातो सेतो ध्वजा राख्ने गरिन्छ । मेलको हाँगा खेतको लागि हुन्छ भने ध्वजा अदृश्य शक्ति प्रेतको लागि हुन्छ । त्यहि दिन साँझ प्रत्येक घरमा विभिन्न नानावाना वनाइन्छ । नानावाना भन्नाले मानव जीवनमा उपयोग हुने हतियार देखी लिएर मुसा, विरालो, विछी, सर्प, ढ्याङ्ग्रो, धनुष, मत्याङ्ग्रा आदी वनाइन्छ । प्रत्यक घरमा नानावाना वनाउने वेला पञ्च घरमा भने सवै जम्मा भएर हरेलीको इतिहासको कुरा गर्दै नानावाना वनाउने चलन छ ।
भोली पल्ट विहानै हातमा लिङजा, धुप, कुखुरा, लिएर पुरुष मान्छे खेत झर्छन् भने महिला रोटी रक्सी लिएर खेत झर्छन् । केही समय पछि खेतमा सवैले कुखुराको वलि दिदै भूमे पुजा गर्छन् भने दमाहादक पनि एक छेउमा दमाहा वजाउछन् । खेतमा पुजा गर्ने वेलामा राजा राहुलाई कुनै मानवीय क्षती नगर्नु भनेर मनाउछन् भने कम्फु रम्मालाई पनि तिम्रा लाला वाला जोगाइदिनु भनेर मनाउछन् ।
पुजा गरेको केही समय पछि सवै पुजारी एकै ठाउँमा जम्मा हुन्छन् र सवैले आफ्ना रोटी रक्सी एक ठाउँमा जम्मा गरी वाँडेर खाई सकेपछि गाउँका केही व्यक्ति भूमी देवतासंग वर माग्ने चलन छ जुन मागेको हो त्यो मनोकाँक्षा पुरा हुने जनविश्वास छ । बर माग्ने वेला निसन्तानले सन्तानको बर माग्ने, सन्तान भएपनि छोरा नहुनेले छोराको बर माग्ने र कोही विवाह गरेको छैन भने स्वास्नी बर माग्ने चलन छ । बर मागेकालाई गाउँका जान्ने मान्नेले फुल पाती लगाएर घर सम्म वोकेर लैजाने चलन छ ।
नाचगान संग जोडिएको हरेली
रुकुम रोल्पाको सवै भेगमा हरेली पर्व मानेको सुनिदैन, सीमामा मात्रै हरेली पर्व हुने भएकोले सवै गाउँका मान्छे मेला हेर्न आउछन् । यस मेलाको प्रमुख आकर्षक भनेको भूमे पुजा र नाचगान हो । नाचमा खन्जना नाच, पैशरु नाच, नचारु नाच, झोरा नाच र फाँक नाच नाच्ने चलन छ । यो मेला ३ दिन सम्म धुमधामको साथ मनाउने चलन परापूरवकालदेखी रहेको पाईन्छ ।
?
किन नाचिन्छ त जेठ असारमा नाच्ने नाच श्रावणमा
तपाई हामीले कुनै किताव वा पत्र पत्रिकामा पढ्छौ, भूमे नाच असारको महिना वन्द हुन्छ । हो यसको लामो ईतिहास छ । भूमे पुजा जतिखेर पायो त्यतिखेर नाच्न मिल्दैन । तर श्रावणको महिना भने नाच्न मिल्छ । हामी श्रावणको १ गते राँख्या सकराती मानेपछि गाजावाजा सवै फुकाउने चलन छ । नचारु र झोरा नाच यदी चैते दशैमा सो नाच फुकाइएन भने यही श्रावणको १ गते फुकाउने चलन छ । संग संगै भूमे नाच पनि नाच्ने चलन छ । भूमे नाच भित्रको खन्जना चाला यस अवसरमा वढी नाचेको पाईन्छ । अर्को कुरा हामी प्रकृति प्रेमी हौ । हामी आफ्नो कारणले प्रकतिलाई नोक्सान गराउन चाहान्नौ पनि । जमिन भित्र वस्ने सर्प, लगाएत अन्य जीव जन्तु श्रावणको मिहिना सम्म वाहिर नै हुन्छन् । भदौ महिनादेखी जाडो शुरु हुने भएकोले यी किरामिरा सर्प सवै माटो मुनी जाने भएकोले दमाहाले जमिन मुनी वस्ने जीवलाई असर गर्ने भएकोले लामो समय सम्म दमाहा वजाउन वन्द हुन्छ ।
पछिल्लो समय भने आधुनिकताले मौलिकता हराउदै गएको छ । त्यसैमा सवैको ध्यान जान पनि आवश्यक ठान्दछु ।
यस लेखका लेखक भुमे गाउँपालिका २ स्थित काँक्री स्वास्थ्यचौकिमा कार्यरत हुनुहुन्छ