सिस्ने गाउँपालिका १ नम्बर वडा लाम्पाखाकी सपना बुढा २५ वर्षकी हुनुहुन्थ्यो । १५÷१६ वर्षमा बिहे गर्नुभएकी उहाँले १८ मा पहिलो २० मा दोस्रो, २४ मा तेस्रो सन्तानलाई जन्म दिनुभयो । पहिलो र दोस्रो सन्तान दुई छोरी छन् । तेस्रो सन्तानको जन्मेको केहि मिनेटमै मृत्यु भएको थियो । चौथो सन्तानले पनि न संसार देख्न पायो न त आमाले मृतक सन्तानको शोक मनाउन नै । चौथो सन्तानको पेटमै मृत्यु भयो अनी पेटमा बच्चा मरेको ९÷१० घण्टासम्म छटपटाउदै आमाले पनि प्राण त्याग्नुपर्यो ।

बुढालाई १९ गते साझ सुत्केरी व्यथा लाग्यो । नजिक स्वास्थ्य संस्था थिएन् । भौगोलिक विकटता त्यस्तै सडक सुविधा पनि नै । बुढालाई व्यथा लागिसकेपछि भट्टेचौर स्वास्थ्यचौकीमा उहाँका परिवारले खबर गरेका थिए । त्यस लगत्तै स्वास्थ्यचौकी इन्चार्ज काशीराम ओलीले तुरुन्त बिरामीलाई यता हिडाउनुस भनेर आफु पनि स्वास्थ्यचौकीबाट लाम्पाखातर्फ लाग्नुभयो र बिच बाटोमा भेट भयो । उहाँ र केहि छिमेकीको सहयोगमा बर्खाको बाटोमा जसोतसो बिरामीलाई भट्टेचौर स्वास्थ्यचौकीमा पुर्याइयो ।

काशिराम भन्नुहुन्छ, “त्यहाँ पुर्याएको केहि समयमै बच्चाको मृत्यु भयो । पेटबाट अप्रेसन गरेर बच्चा निकाल्न भट्टेचौरमा त्यो खालको सुविधा, जनशक्ति छैन् । स्टे«चरमा बोकेर रुकुमकोटसम्म पुर्याउ त निरन्तर झरी परेको छ । १२÷१५ घण्टा लाग्छ बिरामीलाई बाटोमै केहि हुन्छकी भन्ने डर एकातिर छ । हेलिकप्टर बोलाइएको छ त्यहाँ नाइटभिजन हेलिप्याड पनि छैन् र मौसम पनि खराब छ । रातभरी नसुतेर रुकुम(पूर्व) अस्पताल र स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले भिडियो कलमार्फत सिकाउने र भट्टेचौरमा रहेका स्वास्थ्यकर्मीले त्यसैअनुसार काम गरे । यत्तिकैमा रात बित्यो । रातभरी परिवारको अलापविलाप चलिरह्यो । बिहान पनि मौसम खराबका कारण हेल्किप्टर सुर्खेतबाट उड्न सकेन । १० बजेमात्रै हेलिकप्टर आयो । सिस्नेबाट हेलिकप्टर बिरामी लिएर उडेको ४ मिनेटमै बिरामीको मृत्यु भयो । यो मराई समान्य थिएन् । निकै पिडादायिक थियो । ”

यो देखिएको र सबैको नजरमा परेको रुकुम(पूर्व) को एउटा वास्तविकता हो । नदेखिएका यस्ता घटना गाउँघरमा थुपै्र छन् । सरकारको स्वास्थ्य नीति गजबको छ । तर त्यस्तो गजबको निति हुदाहुदै पनि हुने यस्ता घटनाले नीतिलाई नै गिज्याइरहेका छन् ।

रुकुम(पूर्व) मा भौगोलिक कठिनता, यातायात, टेलिफोन, विद्युतको असुविधाले यहाँका नागरिकले विभिन्न समस्या झेल्दै आएका छन् । सिस्नेको यो घटना एउटा प्रतिनिधिमुलक उदाहरण हो । पुथा उत्तरगंगा गाउँपालिकाको १, २ ३, ४ नम्बर वडाका नागरिकहरुले पनि यस्तैै समस्या आइलागेको खण्डमा हेलिकप्टर कुर्नुपर्छ । कदमकदाचित हेलिकप्टर आएन भने मृत्युलाई स्विकार्नुपर्ने बाध्यता रहिआएको त्यहाँका नागरिकले बताएका छन् ।

सरकारले नागरिकसामु सबै सेवा सुविधा पुर्याउन त सकेको छैन् नै । नागरिकस्तरमा चेतनाको अभाव, अन्धविश्वास, पुराना रितिरिवाज पनि यस्ता घटनाको सहयोगी बनेका छन् । स्वास्थ्यचौकी भट्टेचौरका इन्चार्ज ओलीका अनुसार सपना बुढालाई बच्चा जन्माउनको लागि असार अन्तिम साताको डेट दिइएको थियो । पेटमा बच्चाको अवस्था अली असामान्य रहेको र यहाँ समस्या हुन सक्ने भन्दै रुकुम(पूर्व) अस्पतालमा रिफर पनि गरिएको थियो । बच्चा जन्मिने समय कटिसकेको भन्दै स्वास्थयकर्मीले पटकपटक फोन गरेर र प्रत्यक्ष रुपमा अस्पताल जान आग्रह गर्दा पनि उहाँहरुले अटेरी गर्नुभयो । धामीझाक्रिको काममा भने निरन्तर लागिरहनुभयो । स्वास्थ्यकर्मीको जबरजस्तिले पछि परिवारका अन्य सदस्यले अस्पताल लैजान तयार भएपनि स्वयम सपनाले नै नमानेको परिवारले बताएका छन् ।

स्वास्थ्यचौकी इन्चार्ज भन्नुहुन्छ, “१९ गते साझ व्यथा लागेर पनि रक्तस्राव धेरै भइसकेछ । परिवारका मान्छे र अन्य छरछिमेकी कसैले नि छुन मानेनछन् । पछि तुरुन्त बोकेर स्वास्थ्यचौकी ल्याउनुस हैन भने तपाइहरुलाई पुलिस बोलाएर कार्बाही गर्न लगाउछु भनेर आफुले भनेको र त्यसपछि मात्र त्यहाँका मान्छेले सपनालाई स्ट्रेचरमा बोकेर ल्याए । अवस्था सामान्य नभएकाले ओली भने केहि आवश्यक सरसमान बोकेर आधी बाटोमै भेटाउन जानुभयो । आधि बाटोमा भेटेर त्यहि चेकजाँच गर्दा बच्चाको नाल र हात निस्किएको थियो । बच्चाको धड्कन कम भएको र आमाको रक्तस्राव धेरै भएको थियो । त्यसपछि स्वास्थ्यचौकीमा पुर्याएर तुरुन्त अक्सिजन लगाएको र त्यहाँ पुर्याएको एक घण्टामै पेटमा बच्चाको मृत्यु भएको थियो ।

बच्चालाई त बचाउन सकिएन । अब आमालाई कसरी बचाउने भन्ने पिर सबैतीर पर्यो । एकातीर परिवारको अलापविलाप चलिरहेको छ । अर्कोतीर बाहिर बर्खे झरी दर्किएको छ । सडक सुविधा छैन् । हिडेर १२÷१५ घण्टा लाग्छ । अब रातभरी राम राम भन्दै बस्नु शिवाय अरु कुनै विकल्प देखिएन् । बिहान भयो । हेलिकप्टरको पर्खाइमा थिए सबै । मौसम खुल्दै खुल्दैन् । प्रत्यक्षदर्शीका अनुसार अझै पनि देवीदेवता खुसी पार्न भन्दै स्वास्थ्यचौकीमै परिवार र छरछिमेकीले धजा मन्छाउन भने छोडेनन् । बिहानको १० बज्यो । बल्ल हेलिकप्टर आयो । सपनाको प्राणरक्षाको कामना गर्दै उहाँलाई हेलिकप्टरमा पठाइयो । सुर्खेत पुग्नेबित्तिकै अस्पतालले उहाँलाई मृत घोषणा गरेको खबर आयो । बच्चा पछि आमालाई बचाउने सबैको प्रयासमा पानी फेरियो ।

यो घटना भएको २÷३ दिनपछि फेरी सिस्नेकै सिस्ने पोखरी भन्ने ठाउँमा १८ वर्षकी तिला बुढाले पनि एक शिशुलाई घरमै जन्म दिनुभयो । सालनाल नखसेपछि बल्ल स्वास्थ्यचौकी भट्टेचौरमा परिवारको फोन आयो । स्वास्थ्यचौकी इन्चार्ज ओलीले तुरुन्त स्ट्रेचरमा बोकेर तीलालाई स्वास्थ्यचौकी पुर्याउनुस भनेर परिवारलाई भन्नुभयो । त्यहाँपनि रुदिवादी संस्कारको कारण कसैले पनि सुत्केरीलाई छुन नमानेको र तीलाको अवस्था गम्भिर हुदै गएको कारण आफै आवश्यक औषधी र सरसामान लिएर सिस्ने पोखरी जानुपर्यो । त्यहाँ पुग्दासम्म तीलाको धेरै रक्तस्राव भइसकेको र बल्लतल्ल सामान्य अवस्थामा फर्काउन सफल भएको इन्चार्ज ओलीले सुनाउनुभयो । गएको मंसिरको महिनामा पनि भट्टेचौरकी १८ वर्षकी विनीता बुढाले जन्म दिएको बच्चा पनि मृत नै थियो ।

यसरी घटनाक्रमलाई हेर्ने हो भने प्राय मानिसहरुले वाल विवाह गरेको देखिन्छ । वाल विवाहको कारण सामाजिक, आर्थिक, मानसिक, शारिरिक रुपमा असर त पर्ने नै भइहाल्यो । पुरानो अन्धविश्वासजन्य संस्कारमा जगडिएर बस्दा झन बढी समस्या थपिएको सिस्ने गाउँपालिका १ का वडाध्यक्ष रजबहादुर बुढाले बताउनुभयो । “चेतनाको अभावले गर्दा स्वास्थ्य संस्था पुग्न छाडेर धामीझाक्रिकहाँ पुग्ने चलन छ”, वडाध्यक्ष बुढाले भन्नुभयो, “कसैको बच्चा उल्टो परेकोलाई यहाँ हुदैन अप्रेसन गर्नुपर्छ रुकुमकोट या त रुकुम(पश्चिम) जानुस भनेर सल्लाह दिदा जादैनौ हामी त रुकुमकोट पेट चिरेर पानीपुत्लो निकालिदिन्छ रे हामी मर्यौ भने को जिम्मेवार हुन्छ भनेर भन्छन् ।” स्वास्थ्यसंस्थासम्म पुग्न २ रुपैया खर्च गर्न लोभ मान्ने त्यहाँको समुदायले धामीझाक्रि गरेर देवीदेवता खुसी पार्न भन्दै लाखौ ऋण गरेर साँढे, बोका बली चढाउने गरेको उहाँको भनाई छ । कतीपय त देवीदेवतालाई खुसी पार्न भनेर ऋण कारी पुजा गर्दा अहिले विदेशिनुपर्ने अवस्थामा रहेको वडाध्यक्ष पुनले बताउनुभयो ।

पछिल्ला केहि दिनमा सिस्ने १ मा भएका घटनाक्रमलाई हेरेर रुकुमकोटमा सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालय लगाएतको संयुक्त बैठक बसेर सेवा विस्तार र चेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको छ । त्यहाँका मानिसहरुमा चेतना अभावले स्वास्थ्यसंस्थासम्म पुग्न अटेरी गर्ने भएको कारण वडाध्यक्ष रजबहादुर बुढाको नेतृत्वमा गर्भवतीलाई स्वास्थ्यसंस्थासम्म पुर्याउन ५ सदस्यीय कार्यदल निर्माण गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो । जसमा भट्टेचौरका स्वास्थ्यचौकी इन्चार्ज, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयमसेविका, गाउँपालिकाको स्वास्थ्य शाखाबाट संयोजक÷सहसंयोजक रहने गरी कार्यदल बनाइएको अध्यक्ष रेग्मिले बताउनुभयो । यो कार्यदलमा रहेको टोलीले गर्भवतीहरुलाई सम्झाइ बुझाई ससमयमै अस्पतालसम्म पुर्याउन सहयोग गर्ने छ ।

“भौगोलिक कठिनाइका कारणले विभिन्न समस्याहरु झेल्नु परेको त छ नै”, अध्यक्ष रेग्मिले भन्नुभयो, “चेतना अभावको कारणले सिस्ने १ मा थप समस्या उत्पन्न भएको देखियो ।” आउदो असोजको महिना भित्र संघ, प्र्रदेश, स्थानीय सरकार र जिल्लास्थित गैरसरकारी संघसंस्थाले संयुक्त रुपमा स्वास्थ्य शिक्षा र संस्कृती सम्बन्धि जागरण अभियान चलाएर सचेतना फैलाउने गरी छलफल भएको उहाँको भनाई छ । यस्तै भट्टेचौर स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड र ल्याब सेवा थप गर्ने गाउँपालिकाले जनाएको छ । एक जनालाई अल्ट्रासाउन्ड तालिमको माग गरि क्षेत्रीय तालिम केन्द्रमा तत्काल पठाउने र ल्याबको सामाग्री, जनशक्ति व्यवस्था गर्न पहल सुरु गरेको गाउँपालिका अध्यक्ष रेग्मिले बताउनुभयो ।

सिस्ने १ भट्टेचौर स्वास्थ्यचौकीमा आर्थिक वर्ष २०७७÷७८ मा २६ जना, २०७८÷७९ मा ५८ जना, २०७९÷८० मा ४९ जना र चालु आर्थिक वर्षको साउन महिनासम्ममा ६ जनाले बच्चा जन्माएका छन् । ३ जनाले घरमा बच्चा जन्माएका छन् । अवस्था असामान्य रहेका गर्भवतीहरुलाई भने रुकुम(पूर्व) अस्पताल, रुकुम(पश्चिम) मा रहेको चौरजहारी अस्पताल, नेपालगञ्ज लगाएतका ठाउँमा रिफर गरिएको थियो ।

जिल्लामा भर्खरै गएको असार ६ गते पनि भूमे गाउँपालिका १ लुकुम पन्चासेकी २६ वर्षकी पुष्पा घर्तीको बच्चा जन्माउने क्रममा मृत्यु भयो । उहाँ सुरुमा काँक्रि स्वास्थ्यचौकीमा पुग्नुभएको थियो । स्वास्थ्यचौकीले रुकुम(पूर्व) अस्पतालमा रिफर गरेको थियो । अत्याधिक रक्तस्राव भइसकेको र एनेस्थेसिया पनि नभएको कारण त्यहाँ अप्रेसन सम्भव नभएको भन्दै अस्पतालले बिरामीलाई रुकुम(पश्चिम) सल्लेमा रिफर गरेको थियो । उहाँका परिवारले अस्पताल नलगी बिरामीलाई घरमा लगेको र पुष्पा र बच्चाको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवम् ल्याब टेक्निसीयन निरिक्षक निम प्रसाद गिरीले जानकारी दिनुभयो । अस्पतालले रिफर गरेको बिरामीलाई सल्ले लगे कि लगेनन् भनेर ट्रेस नगरेको र परिवारले झन हदैसम्मको लापरबाही गरेको पाइएको छ ।

सिस्ने गाउँपालिका ७ की १७ वर्षकी आशिका पुनको पनि २०७७ फागुन २५ मा बच्चा रुकुम(पश्चिम) मा रहेको सल्ले अस्पतालमा मृत बच्चालाई जन्म दिनुभएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी गिरीले बताउनुभयो । सिस्ने ७ कै २९ वर्षकी सिता खड्का रावतको २०७९ माघ १० मा सल्ले अस्पतालमै आमा र बच्चा दुवैको मृत्यु भएको थियो । जिल्लामा यस्ता घटनाहरु थुप्रै हुने गरेका छन् । पहिले रिपोर्टीङ गर्ने सिस्टम नहुँदा यस्ता घटनाहरु कती भए भनेर तथ्याङ्क नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।