रुकुम(पूर्व) मा आत्महत्या रोकथामको लागि सचेतना कार्यक्रम गरिएको छ । बढ्दो आत्महत्या दरलाई न्यूनिकरण गर्नको लागि जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले आत्महत्या रोकथामका लागि सचेतना कार्यक्रम संचालन गरेको हो ।

रुकुम(पूर्व) मा आर्थिक वर्ष २०७८÷७९ मा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनाले आत्महत्या गरेको जानकारी जिल्ला प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठले जानकारी गराउनुभएको छ । उहाँकाअनुसार आर्थिक वर्ष २०७९÷८० मा ६ पुरुष, ४ महिला र २ बालक गरी १२ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा एक जनाले आत्महत्या गरेका छन् । पछिल्लो ३ आर्थिक वर्षमा आत्महत्या गर्नेहरुमा १० महिला र १५ जना पुरुष छन् । जसमा १९ जनाले झुन्डिएर, ६ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा ११ वर्षदेखी ७० वर्ष उमेरसमुहका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी गराएको छ ।

मानिसले विभिन्न कारणले आत्महत्या गर्ने गरेको पाइएको छ । गम्भिर तथा पीडादायक शारीरिक रोगहरु क्यान्सर तथा एड्स जस्ता रोगहरु, सुत्केरीपछि हुने डिप्रेसन, परिक्षामा असफलता, प्रेममा विछोड, कष्टदायक वैवाहिक जिवन, अर्वध गर्भ, मध्यपान तथा दुव्र्यसन, दाइजो सम्बन्धि समस्या, घरेलु हिंसा तथा पारिवारिक कलह, बेरोजगारी तथा आर्थिक समस्या, बलात्कारको पिडा, आत्महत्याको पारिवारिक इतिहास आदी आत्महत्याको कारण रहेका छन् । यस्तै व्यापार व्यवसायमा घाटा तथा क्षती, धेरै ऋण, सामाजिक अपमान तथा बहिस्कार, प्रियजन तथा आफन्तको मृत्यु, मानसिक अन्तरद्धन्द्ध, आत्मसम्मानमा ठेस पुग्नु लगाएका कारणले मानिसहरुले आत्महत्या गर्ने गरेको डिएसपी श्रेष्ठले कार्यक्रममा जानकारी गराउनुभएको छ ।

रोजगारीको सिर्जना तथा अर्थोपार्जनमा सरलता, सामाजिक दायित्व, भावना साट्ने, सुलभ उपचार, विशेष रेखदेख गर्नाले आत्महत्याको घटनामा कमी आउने बताइएको छ । यस्तै पारिवारिक दायित्व, जागरण कार्यक्रम, आकस्मिक उपचार, तनाव व्यवस्थापन, मनोसामाजिक परामर्श लगाएतले आत्महत्याका घटनामा कमी आउने प्रहरीले बताएको छ ।