नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम(पूर्व) ले स्थापना दिवसको अवसर परि रक्त समुह परिक्षण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवसको अवसर पारेर जिल्ला शाखा रुकुम(पूर्व) ले रक्त समुह परिक्षण गरेको हो । आज जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) को प्राङ्गणमा सुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको जिल्ला शाखाले स्वास्थ्य कार्यालय र रुकुम(पूर्व) अस्पतालको प्राविधिक सहयोगमा रक्त समुह परिक्षण गरेको हो ।

जसमा ६२ जनाको रक्त समुह परिक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम(पूर्व) का कार्यालय प्रमुख सन्तोष ढकालले जानकारी दिनुभयो । जिल्लामा ब्लड बैंकको स्थापना नभएको र बिरामीलाई ब्लड आवश्यक परेको बेलामा अभाव खड्किरहेको अवस्थालाई मध्यनजर गर्दै रक्त समुह परिक्षण गरेको उहाँले बताउनुभयो । सबै भन्दा पछि अर्थात ७७ औ जिल्ला शाखाको रुपमा रुकुम(पूर्व) मा स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटीको तत्काल ब्लड बैंकको स्थापना गर्न सक्ने अवस्था नरहेको कारण ब्लड ग्रुप पहिचान गर्ने र बिरामीलाई आवश्यक परेमा त्यसैबाट पूर्ती गर्ने उदेश्यका साथ यो कार्यक्रम गरिएको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।

केहि समय अघिदेखी रुकुम(पूर्व) अस्पतालमा अप्रेसन सेवा सुरु भएको छ । बिरामीको अप्रेसन गर्नुपूर्व उसको ब्लड ग्रुपसँग मिल्ने ब्लड तयारी अवस्थामा हुनुपर्ने हुन्छ । यहाँ ब्लड बैंक नभएको कारण त्यसो गर्न समस्या छ । तर आफन्तहरुले पनि बिरामीलाई ब्लड दिन हिचकिचाउने गरेको रुकुम(पूर्व) अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले बताउनुभयो । ब्लड दियो भने कमजोर भइन्छ भन्ने बुझाइ मानिसहरुमा रहेको कारण यस्तो समस्या हुने गरेको डाक्टर कोइरालाले बताउनुभयो । कसैले ब्लड दिन चाहे पनि आफ्नो ब्लड ग्रुप कुन हो भनेर अलमलमा पर्ने गरेको पनि उहाँले बताउनुभयो ।

जिल्लामा आयोजना गरिएको रक्त समुह परिक्षण कार्यक्रमले अब जिल्लामा ब्लड आवश्यक परेमा सजिलै पाउन सकिन्छ भन्ने विश्वास गरेको डाक्टर कोइरालाले बताउनुभयो । जिल्लामा ब्लड ग्रुप पहिचान गरिएकाहरुको रोष्टर निर्माण गर्ने र आवश्यक परेको खण्डमा तत्काल फोन गरेर रक्तदान प्रक्रियालाई अघि बढाइने छ । रेडक्रसले भोली पनि कमलदहमा रक्त समुह परिक्षण कार्यक्रम गर्ने छ भने अन्य दिनमा विद्यालयहरुमा पनि यो कार्यक्रम संचालन गर्ने छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम(पूर्व) का सभापती दामोदर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीको प्रमुख र निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, शिक्षक, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।