रुकुमकोट: संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलवार बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिनुभयो ।
संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने निर्णय भएको हो । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको थियो ।
एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ ।
संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ । नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार छोराहरू आएपछि अन्त्येष्टि गरिने जनाइएको छ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो ।