भोली आइतबार स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवाहरु बन्द हुने भएका छन् । मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ । सोहि अनुसार रुकुम(पूर्व) मा पनि भोली सबै स्वास्थ्य संस्थाहरुको सेवा बन्द रहने भएको छ ।

गएको २७ गतेका दिन हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । उहाँहरुमाथी कुटपिट भएपछि ७२ घण्टाको अल्टिमेटम दिई दोषिलाई कारबाहीको माग गरिएको थियो । उक्त घटनाका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै ३१ गते आइतबारका दिन देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनीकहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवाहरु बन्द गर्ने भनेर नेपाल चिकित्सक संघले विज्ञप्ती निकालेको छ ।

सोहि कुरामा एक्यबद्धता जनाउदै रुकुम(पूर्व) मा पनि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवाहरु बन्द रहने रुकुम(पूर्व) अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिनुभयो । उक्त घटनालाई लिएर हेटौँडा अस्पतालका ७८ चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिइसकेका छन् ।

डेंगी संक्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

संघका मागहरु

-२०८० भाद्र २७ गतेको सन्चो अस्पताल हेटौडामा घटाइएको आततायी सांघातिक घटनामा संलग्न सम्पूर्ण दोषीहरुको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने ।
– देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने ।
– स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ लाई अक्षरस पालना गराउनका लागि नेपाल सरकारका न्यायिक, अर्घन्यायिक, सम्पूर्ण सुरक्षा, निकाय गृह मन्त्रालय लगायत सरोकारवाला सबैलाई स्वास्थ्य क्षेत्रको संवेदनशिलतामाथि गम्भीर रुपमा मनन गरी सोही अनुरुप सचेतनामूलक कार्यक्रमहरु अनिवार्य रुपमा संचालन गरिनु पर्ने ।   

-चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको जनशक्ति दिनप्रतिदिन रोगजारी तथा क्षमता अभिवृद्धिका लागि विदेशिन बाध्य भईरहेको विद्यमान परिस्थितिलाई गम्भीर रुपमा मनन गरी अबिलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि आवश्यक कार्य अगाडि बढाउनु पर्ने ।
–  विश्व स्वास्थ्य संगठनको सिफारिस बमोजिम चिकित्सक र बिरामीको अनुपातलाई नेपालमा यथोचित कार्यान्वयन गर्न नसकिएको कारण यस्ता प्रकारका घटनाहरुले प्रशय पाउने गरेको नेपाल चिकित्सक संघको ठहर छ । त्यसैले स्वास्थ्य संस्थामा हुने अत्याधिक चापलाई न्यूनिकरण गर्न एवं गुणस्तरीय स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अनिवार्य रुपमा चिकित्सकको दरबन्दी बृद्धि, बैज्ञानिक कार्य समयको निर्धारण तथा सोही अनुरुपको सेवा सुविधा उपलब्ध गराउनु पर्ने ।
-उक्त घटनाका दोषीहरुलाई पक्राउ गरी कानूनी कारवाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरुले मेलमिलाप गराउने भनी  घटनालाई निस्तेज पार्न खोजिएको हुनाले सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानून बमोजिम कारवाही हुनु पर्ने, साथै भावी दिनमा यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिबद्धता समेत हुनु पर्ने ।