रुकुम(पूर्व) मा बजार अनुगमन गरिएको छ । दशैं तिहार जस्ता चाडहरु नजिकिदै गर्दा बजारमा हुन सक्ने कालोबजारी मुल्य अभिवृद्धि, व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गर्न सक्ने कुराहरुलाई मध्यनजर गरि मंगलबार रुकुम(पूर्व) को भूमे गाउँपालिकाको विभिन्न ठाउँमा अनुगमन गरिएको होे । जिल्ला प्रशासन कार्यालय, भूमे गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार लगाएतको उपस्थितीमा बजार अनुगमन गरिएको हो ।
भूमे गाउँपालिका १ को लुकुम, २ को काँक्रि र खाबाङ् बगर बजारमा अनुगमन गर्दा ३५ हजार एक सय ५५ रुपैयाँ बराबरको अखाद्य सामान बरामद गरी नष्ट गरिएको छ । खाबाङमा रहेको मारिङ बहुउदेश्यिय सहकारी संस्थासँगै ७ वटा होटेल, एउटा मेडिकल, १२ वटा किराना पसल र केहि मासु पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा सबैभन्दा बढी आटा म्याद गुज्रिएको भेटिएको थियो । यसैगरी आलु चिप्स, चाउचाउ, भुजा, हर्लेक्स, काजु, बेसार लगाएतका सामान म्याद गुज्रिएका भेटिएका थिए ।
अनुगमनको क्रममा कतीपय होटेलहरुमा सरसफाइ नभएको पाइएको छ । मुल्यसूचि भने कुनै पनि पसलहरुले नराखेको पाइएको छ । व्यवसायीहरु दर्ता प्रक्रियामा भने जान थालेको पाइएको छ । यसैगरी मारिङ सहकारीसँगै बजारका अन्य गरी ४ वटा पसलहरुमा भने ठुलो मात्रामा लेबलिङ नगरेको चामल भेटिएको छ । उनिहरुको बिल हेर्दा त्यो चामल भर्खरै झारेको देखिएको छ भने बोरामा मनसुली लेखिएको तर भित्र धुलोधुलो भएको मोटो चामल भएको भेटिएको छ । चामलको बोरामा उत्पादन मिति र उपयोग गर्न मिल्ने समय उल्लेख नगरिएको भेटिएपछि सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले कम्पनीलाई फोन गवरेर चामल फिर्ता लैजान निर्देशन दिनुभएको छ ।
व्यवसायीलाई पनि लेबलीङ नगरिएको त्यो चामल पालिका, वडा र सम्बन्धित वडाका रहेका प्रहरी चौकीको रोहबरमा फिर्ता पठाउन भनिएको छ । अनुगमनको क्रममा स्थानीयलाई डेट हेरेर सामान किन्न र व्यवसायीहरुलाई पनि डेट हेरेर मात्र सामान मगाउन तथा बेच्न आग्रह गरिएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा मानिसहरुले खासै सामानको उत्पादन मितिलाई ध्यान दिदैनन् भन्ने सोचेर कम्पनीहरुले म्याद गुज्रिएको सामानहरु पठाउने गरेको पाइएको छ । यसतर्फ सचेत रहन व्यवसायीहरुलाई अनुगमन टोलीले आग्रह गरेको छ ।
विगतको तुलनामा भने अहिले यसतर्फ नागरिक र व्यवसायीहरु सचेत हुदै गएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डाँगीले बताउनुभयो । विगतमा बजार अनुगमन गर्दा एकै दिनमा लाखौको म्याद गुज्रिएको सामान बरामद हुने गथ्र्यो । अहिले भने म्याद गुज्रिएका सामानहरु कमै मात्रामा भेटिने गरेको उहाँले बताउनुभयो ।
भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, उद्योग अधिकृत मधुकर डाँगी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नरेन्द्र बुढा, एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत, प्रहरी निरिक्षक हरी भट्टराई, सशस्त्र प्रहरी निरीक्षक सत्यबहादुर बुढाथोकी लगाएतको उपस्थितीमा बजार अनुगमन गरिएको हो । अनुगमनको क्रममा बरामद गरिएको अखाद्य सामान सबैको रोहबरमा नष्ट गरिएको छ ।