रुकुम(पूर्व) मा ४३ औ विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट किसान र पत्रकार पुरस्कृत भएका छन् । जीवन र खाद्यको आधार हो पानी भन्ने मुल नाराका साथ मनाइएको विश्व खाद्य दिवसको अवसरमा एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालय रुकुम(पूर्व) ले कृषक सम्मान समोरोह कार्यक्रमको आयोजना गरेर उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरेको हो । कार्यालयले १३ जना किसान, एक जना पत्रकार, एउटा सहकारी र दुई जना कर्मचारीलाई पुरस्कृत गरेको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार किसानतर्फ पुरस्कृत हुनेमा तरकारी खेतीमा भूमे ३ का दिलबहादुर रोका, किबि खेतीतर्फ भूमे ५ का मोहनसिंह पुन, फलफूल खेतीतर्फ पुथा उत्तरगंगा गाउँपालिका ११ का काली प्रसाद बुढा, मौरी पालनतर्फ सिस्ने ७ का कमानसिहं कुंवर, नर्सरीतर्फ भूमे ७ का झुपलाल ओली रहनुभएको छ ।

यसैगरी मसलातर्फ भूमे ८ का कपिल ओली, कुखुरापालन तर्फ भूमे ६ का अनिल बुढा, भैसिपालनतर्फ सिस्ने ५ का चन्द्रा कुमारी बुढामगर चन्द, बंगुर पालनतर्फ सिस्ने ७ का ललिता थापा बुढा, बाख्रा पालन तर्फ भूमे ९ का बलबहादुर पुन र भेडा पालन तर्फ पुथा उत्तरगंगा गाउँपालिका १० का मनकुमार घर्ती उत्कृष्ट किसान छनोट भएर पुरस्कृत हुनुभएको छ ।

यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा भूमे गाउँपालिकाको कृषि शाखामा कार्यरत विशाल पुन र एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयमा कार्यरत प्रशान्त सुनार छनोट भएर पुरस्कृत हुनुभएको छ । यसैगरी कृषि क्षेत्रसँग सम्बन्धित रहेर कलम चलाएको भन्दै रेडियो पूर्वी रुकुममा कार्यरत निराजन शेर्पालीलाई उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत गरिएको छ भने उत्कृष्ट कार्य गरेको भन्दै भूमे ३ मा रहेको समृद्धि महिला कृषि सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले अहिले मानिसहरुले खेतीपाती गर्न छोड्दा र वैदेशिक रोजगारको कारण खेतबारी बाझै हुन थालेको बताउनुभयो । खेतबारीमा झार उम्रिदा अब जिल्लाासी परनिर्भर हुने अवस्था आउछ की भन्ने चिन्ता व्यक्त गर्नुभयो । जिल्लामा कृषि पेशा गर्नेहरुको सहि तथ्याङ्क संकलन र त्यसअनुसार योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । आत्मविश्वास र परिश्रममा विश्वास गर्न किसानलाई उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि र भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले पालिकाहरुले नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकताका साथ समावेश गरेर काम गरिरहेको बताउनुभएको छ । कृषिमा योजना र लगानी हुँदाहुँदै पनि अलिकती व्यवसायिक रुपमा विस्तार गर्न नसक्दा र बजार समस्याको कारण कृषिमा अपेक्षित विकास हुन नसकेको उहाँहरुको भनाई थियो । कृषिमा विज्ञ सहितको योजना, कामको आवश्यकता रहेको उहाँहरुले औल्याउनुभएको छ ।

कार्यत्रक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले चामल किनेर खानु भन्दा स्थानीय स्तरमा उत्पादीत गहुँ, मकै, कोदोको परिकारहरु खानुपर्नेमा जोड दिनुभयो । रुकुम(पूर्व) प्राङ्गारिक जिल्ला भएको कारण यहाको उत्पादनको माग अन्य ठाउँमा धेरै भएको बताउदै प्रजिअ शर्माले अन्य ठाउँको मागलाई पुरा गर्ने गरी उत्पादनमा जोड दिएर आयआर्जन गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कार्यालय प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको किसान सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर केसीको प्रमुख आतीथ्यता रहेको थियो । यसैगरी सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, गाउँपालिकाा कृषि तथा पशु शाखाका प्रमुख एवम् प्रतिनिधी, उद्योग बाणीज्य संघ, जिल्ला सहकारी संघ, किसान तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका पशु अधिकृत छ्रैठौ खिमबहादुर रोकायको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।