
रुकुम (पूर्व) अस्पतालमा ब्लड बैंक स्थापना भएको छैन । तर निकट भविष्यमा ब्लड बैंक स्थापना गर्ने तयारीका साथ आज सर्वाङ्गिन विकास केन्द्र नेपालले अस्पताललाई रक्तदान कुर्सी हस्तान्त्रण गरेको हो । रुकुम (पूर्व) अस्पताल ५० शैयाको हो । तर पूर्वाधार अभावमा नागरिकलाई सहज सेवा प्रदान गर्न समस्या भइरहेको छ । अहिले सिमित स्रोत साधन र जनशक्तीबाट अस्पतालले सेवा प्रवाह गरिरहेको छ ।
सेवा प्रवाहका क्रममा स-साना पूर्वाधारका कुराहरुको अभावले समस्या आउने गरेको हुन्छ । रुकुम (पूर्व) अस्पतालमा अहिलेसम्म रक्तदान कुर्सीको व्यवस्था हुन सकेको थिएन् । अस्पतालमा पहिलो पटक रक्तदान कुर्सी उपलबध गराएको सर्वाङ्गिन विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणी गौतमले जानकारी दिनुभएको छ । संस्थाले उपलब्ध गराएको रक्तदान कुर्सीले अस्पतालको सेवा प्रवाहमा केहि सहजता ल्याउने अपेक्षा गरेको उहाँले बताउनुभएको छ । साथै अस्पतालमा ब्लड बैंक स्थापनाको लागि संस्थाबाट तयारी भइरहेको पनि उहाँले बताउनुभएको छ ।
अस्पतालमा हुने आकस्मिक रक्तदानको लागि यसअघी रक्तदान कुर्सी नहुँदा काठको र प्लास्टिकको कुर्सीमा राखेर रक्तदान गर्ने गरिदै आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिनुभयो । यसो गर्दा असजिलो र जोखिम हुने गरेको उहाँको भनाइ छ । “अस्ती मात्र प्लास्टीकको कुर्सीमा बसेर रक्तदान गर्दा रगत दान गर्ने मान्छे बेहोस हुनुभयो”‚ डाक्टर कोइरालाले भन्नुभयो‚ “रक्तदान कुर्सी नहुँदा यस्ता खालका विभिन्न समस्याहरुको सामना हामीले गरेका छौ ।” रक्तदान गर्ने ६०/७० हजार पर्ने रक्तदान कुर्सी किन्नको लागि अस्पालसँग आवश्यक बजेट पनि नभएको हुँदा किन्न पनि नसकिएको र अहिले संस्थाले उक्त कुर्सी उपलब्ध गराएपछी भने रक्तदान कार्यमा धेरै सहज हुने उहाँको भनाई छ ।