रुकुम पूर्वमा हिमपातका कारण अबरुद्ध मध्यपहाडी लोकमार्ग संचालनमा आउन सकेको छैन् । बुधबार राती र बिहिबार दिनभरी परेको हिमपातका कारण बिहिबार बिहानैबाट मध्यपहाडी लोकमार्गको रुकुम पूर्व स्थित लुकुम-पातीहाल्ना क्षेत्र ठप्प छ ।
मध्यपहाडी लोकमार्गको लुकुम-पातीहाल्ना क्षेत्रको करिब १८/१९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ । हिजो दिनभरीजसो हिमपात भइरहेपछी सडक खुलाउन सकिएन । आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको रुकुम पूर्वका प्रमुमख जिल्ला अधिकारी माधव प्रशाद शर्माले जानकारी दिनुभएको छ । सडक निर्माण गरिरहेका कन्स्ट्रक्सन कम्पनी सम्पर्कमा नआएपछी रुकुमकोटका हरी बहादुर थापाको जेसिबी लिएर हिउँ पन्छाउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । एउटा मात्र मेसिन लगाएर आज दिनभरीमा पनि सडक संचालनमा ल्याउन मुस्किल पर्ने उहाँको भनाई छ ।
सडक अबरुद्ध भएपछी बिहिबार काठमाडौंबाट आएर पातीहाल्ननामा अलपत्र परेका यात्रुहरुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको थियो । रुकुम पश्चिम र रुकुम पूर्वबाट बाठमाडौंको लागि छुटेका आधा दर्जन यात्रुबाहक बसहरु भूमे गाउँपालिका १ लुकुमबाट फर्किएर सल्यान-दाङ हूदै काठमाडौं गएका थिए ।
हिमपातको कारण यस जिल्लामा सहिदमार्ग पनि अबरुद्ध भएको छ । हिमपातका कारण भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाको सिमाना रिका लेकदेखि हुकामसम्मको सडकखण्ड अबरुद्ध छ । सहिदमार्ग अबरुद्ध हुँदा पुथा उत्तरगंगा गाउँपालिका पूर्ण रुपमा सदरमुकामसँग विच्छेद भएको छ । यस क्षेत्रमा फोनले पनि काम गरेको छैन् । जिल्लामा सहिदमार्ग र मध्यपहाडी लोकमार्ग अबरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् । सहिदमार्ग अबरुद्ध हुदाँ जिल्ला भित्र ओहोरदोहोर गर्न र मध्यपहाडी लोकमार्ग अबरुद्ध हुँदा पोखरा‚ काठकाडौं जान समस्या भइरहेको रुकुम पूर्वका दिलचन पुनले बताउनुभयो । रुकुमकोट आउनको लागि पोखराबाट आएको टोली पनि बिहिबारदेखी बागलुङ् बुर्तीबाङमा रोकिएको छ ।