
नेपाली चलचित्र ‘घरज्वाइँ’को टिम तकसेरामा पुगेको छ । ‘घरज्वाइँ’ छायाँकनको लागि उक्त टोली आज तकसेरामा पुगेको हो । तकसेरामा पुगेको टोलीलाई गाउँपालिकाले स्वागत गरेको छ । तकसेरामा पञ्चे बाजा बजाएर स्थानीय परम्परा अनुसार चलचित्र छायाँकनको लागि पुगेको टोलीलाई स्वागत गरिएको हो ।
रुकुम पूर्वका विभिन्न ठाउँमा खिच्न लागिएको चलचित्र ‘घरज्वाइँ’को सुटिङ शनिबार रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर १ को लुकुमबाट सुरु भएको थियो । लकुम, काँक्रि र क्याङसी लगायतका ठाउँमा छायाँकन पछि आज ‘घरज्वाइँ’को टोली पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा पुगेको हो ।
यो टोली महिनादिन तकसेरा लगायतका ठाउँमा रहने चलचित्रका निर्देशक अनिल बुढाले जानकारी दिनुभयो । निर्देशक बुढा यही तकसेरावासी हुनुहुन्छ । जिल्लाका विभिन्न ठाउँमा चलचित्र ‘घरज्वाइँ’को छायाँकन हुने उहाँले बताउनुभयो ।
चलचित्रमा नायक दयाहाङ राई र मिरुना मगरको प्रमुख अभिनय रहेको छ । चलचित्रमा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनील मगर लगायतलाई पनि देख्न सकिने छ ।
यस चलचित्रको निर्माता जनक घर्ती मगर रहनुभएको छ । यस चलचित्रको प्रदर्शन आगामी असार २८ गतेलाई तोकिसकिएको छ ।