रुकुम पूर्वमा यहि फागुनको १३ गतेदेखी १७ गतेसम्म दादुरा रुबेला विरुद्धको खोप अभियान संचालन गरिने भएको छ । जिल्लामा रहेका ९ महिनादेखी ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउन लागिएको हो । यो खोप अभियान देशभर सञ्चालन हुँदै छ ।

खोप अभियानलाई सफल बनाउनको लागि गरिएको तयारीस्वरुप जिल्लामा आज जिल्ला खोप समन्वय समितिको बैठक बसेको छ । बैठकमा खोप अभियान संचालनको लागि अहिलेसम्म गरिएका तयारीका बारेमा स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी गराएको थियो । साथै सरोकारवाला बिचमा पनि छलफल भएको थियो ।

यस जिल्लामा फागुन १३ गते बिहान छिप्रीदहमा र्याली कार्यक्रम गरी खोप अभियानको सुरुवात गरिने स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख पुस्कल श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँले बैठकमा यस जिल्लाका ५ हजार ८३ जना बालबालिका दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्षित जनसंख्या रहेको जानकारी गराउनुभयो । जसमा सिस्ने गाउँपालिकाका एक हजार ६ सय ३‚ भूमे गाउँपालिकाका १ हजार ७ सय ९९ र पुथा उत्तरगंगा गाउँपालिकाका १ हजार ६ सय ८१ जना बालबालिका रहेका छन् ।

यस्तै खोप अभियानको लागि जिल्लामा ९८ जना स्वास्थ्यकर्मी‚ १ सय ७० जना स्वयमसेवक खटिदा ८५ वटा खोपकेन्द्रबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी गराउनुभयो । जसअन्तर्गत सिस्ने गाउँपालिकामा ३२ वटा खोप केन्द्रबाट खोप लगाउदा ३२ जना स्वास्थ्यकर्मी र ६४ जना स्वयमसेवक खटिनेछन् । भूमे गाउँपालिकामा ३१ वटा खोप केन्द्रबाट खोप लगाउदा ३१ जना स्वास्थ्यकर्मी र ६२ जना स्वयमस्वक खटिनेछन् । पुथा उत्तरगंगा गाउँपालिकामा २२ वटा खोपकेन्द्रबाट खोप अभियान संचालन हुँदा ३५ जना स्वास्थ्यकर्मी र ४४ जना स्वयमसेवक खटिनेछन् ।

दादुरा रुबेला विरुद्धको खोप रुकुम पश्चिम र जाजरकोटमा यसअघी नै लगाइसकिएको छ । बचेका ७५ जिल्ला मध्येमा ५१ जिल्लामा ९ महिनादेखी ५ वर्षमूनिका बालबालिका र २४ जिल्लामा ९ महिनादेखी १५ वर्षमुनिका बालबालिकालाई खोप ललगाइने छ । रुकुम पूर्वमा भने ९ महिनादेखी ५ वर्षमूनिका बालबालिकालाई मात्र यो खोप लगाइने छ । दादुरा रुबेला खोप अभियानका क्रममा छुट्न गएका नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि खोप अभियानमा खटिने स्वस्थ्यकर्मीलाई अभिमुखिकरण दिइसकिएको छ । यस खोप अभियानलाई सफल बनाउन सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले आग्रह गर्नुभएको छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर केसी‚ सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी‚ निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री‚ सहायक प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठ‚ शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम‚ रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइराला लगाएतको उपस्थिती रहेको थियो । बैठकको संचालन स्वास्थ्य कार्यालय रुकुम पूर्वका ल्याब टेक्निसियन निरिक्षक निम प्रशाद गिरीले गर्नुभएको थियो ।