रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ मा रहेको आधारभूत विद्यालय नयाँ ढाँकामा विद्यालयका प्रधानाध्यापकको मनपरी देखिएको छ । यस विद्यालयका प्रधानाध्यापक बल बहादुर खड्का बिना बिदा स्विकृत विगत दुई महिना यता विद्यालयमा अनुपस्थित रहेको पाइएको हो ।
सिस्ने गाउँपालिकाले आइतबार विद्यालयमा अनुगमण गर्दा विद्यालयका प्रधानाध्यापक नै विद्यालयमा बिना जानकारी‚ बिना बिदा स्विकृत माघ र फागुनको महिनामा विद्यालयमा अनुपस्थित रहेको पाइएको छ । यस्तै विद्यालयका अर्का बाल बिकास सहजकर्ता तिलसरा खड्का पनि बिदा स्विकृत नगरेरै सुत्केरी बिदा बसेको पाइएको छ । सुत्केरी बिदा नेपाल सरकारले नै व्यवस्था गरेको छ । तर विद्यालयमा विदा स्विकृत नगराएरै पूस‚ माघ र फागुनको महिनामा बिदा बसेको पाइएको सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिह बुढाले जानकारी दिनुभयो ।
यस विद्यालयले अहिलेसम्म पनि यसपालिको विद्यालयको अडिट रिपोर्ट गाउँपालिकामा पेश नगरेको उहाँले बताउनुभएको छ । विद्यालयमा व्यवस्थापनको पाटो निकै फितलो पाइएको अनुगमण टोलीले जानकारी दिएको छ ।
विद्यालयका प्रधानाध्यापक बल बहादुर खड्कालाई चैत्र १ गते भित्र स्पष्टिकरण सहित उपस्थित हुन गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले निर्देशन दिनुभएको छ । साथै विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको समृद्धी र विकासको लागि शिक्षक‚ कर्मचारी र अन्य सरोकारवाला बिचमा समन्वय गरेर काम गर्न निर्देशन गरिएको छ ।
दादिङमै एउटा बोर्डीङ स्कुल दर्ता नगरेरै संचालन गरेको पाइएको छ । हिल टप इङ्गलिस बोर्डीङ स्कुलले अनुमती बिना नै नर्सरी र एल.केजी सम्मको पठनपाठन सञ्चालन गरिरहेको पाइएको अनुगमण टोलीले जानकारी दिइएको छ । उक्त बोर्डिङलाई आवश्यक प्रक्रिया पुरा गरेर बोर्डिङ सञ्चालन गर्न निर्देशन गरिएको छ ।
आइतबार दादीङका अन्य दुई विद्यालय जनप्रीय मावि र श्रीजनशिल आधारभूत विद्यालय झाक्रपोलेको पनि अनुगमण गरिएको छ । आधारभूत विद्यालय झाक्रीपोलेमा भने विगत एक वर्ष यताको अवस्थालाई हेर्ने हो भने सुधारात्मक अवस्थामा रहेको सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । “यस अघि अनुगमणमा आउदाद यस विद्यालयको अवस्था दयनिय पाएका थियौ । अहिले कक्षाकोठा देखी लिएर अफिस व्यवस्थापन र अन्य कुराहरुमा क्रमश सुधार हुँदै गएको रहेछ” – उहाँले भन्नुभएको छ ।
विद्यालय अनुगमणमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ उपाध्यक्ष गोपाल रेउले‚ प्रमुख प्रशासकिय अधिकृत रेवत बुढाथोकी‚ सामाजिक विकास समित प्रमुख तिर्था पुन‚ प्रहरी निरिक्षक गनेश पाण्डे‚ गाउँपालिकाका इन्जिनियर कर्ण केसी लगाएतको टोली रहेको थियो ।