रुकुम पूर्वको सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाले बिहिबार सिस्ने ३ पोखरामा दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । दोस्रो चौमासिकसम्म पुग्दा गाउँपालिकाले ३३ प्रतिशत बजेट खर्च गरेको छ ।

सार्वजनिक सुनुवाईका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत कुमार बुढाथोकीले गाउँपालिकाले दोस्रो चौमासिकमा गरेका कामकाज र खर्चको विवरण प्रस्तुत गर्ने क्रममा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा गाउँपालिकाले ३३.२९ प्रतिशत बजेट खर्च भएको जानकारी गराउनुभएको छ । चालु आर्थिक वर्षको लागि गाउँपालिकामा ५२ करोड ४९ लाख २७ हजार ८ सय ९० रुपैँया बजेट बिनियोजन भइ आएकोमा हालसम्म चालु र पुँजीगत गरी जम्मा १७ करोड ४७ लाख ५८ हजार ७ सय ४ रुपैयाँ बजेट खर्च भएको विवरण प्रस्तुत गरिएको छ ।

जसमा आर्थिक विकास अन्तर्गत २३.०९ प्रतिशत‚ सामाजिक विकास तर्फ ३८.३३ प्रतिशत‚ पूर्वाधार विकास तर्फ १३.४ प्रतिशत‚ सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रतर्फ १२.७९ प्रतिशत र कार्यक्रम सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ४०.०२ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जानकारी गराएको छ ।

सार्वजनिक सुनुवाईका क्रममा सहभागीहरुले गाउँपालिकाको सेवा प्रवाह सम्बन्धी विभिन्न जिज्ञासाहरु राखेको थिए भने गाउँपालिकालाई सल्लाह सुझाव पनि दिएका थिए । प्रश्नकर्ताहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ उपाध्यक्ष गोपाल रेउले‚ प्रमुख प्रशासकिय अधिकृत रेवतकुमार बुढाथोकी‚ सिस्ने ३ का वडाध्यक्ष हेराम खड्का लगाएत विभिन्न शाखाका कर्मचारीले कार्यक्रममा आएका सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष सर्जना कार्कीले गर्नुभएको थियो ।