रुकुम पूर्वमा पनि विश्व क्षयरोग दिवस १०८० मनाइएको छ । विश्व क्षयरोग दिवस आज भएपनि रुकुम पूर्वमा आज होली पर्वको बिदा भएको कारण हिजो शनिबार मनाइएको हो । स्वास्थ्य कार्यालय रुकुम पूर्वले सिस्ने ६ छिप्रीदहबाट र्याली निकालेको थियो । उक्त र्याली चाइनिज होटेलबाट सुरु भएर छिप्रीदह बजार हुँदै पिपलबोट पुगेर पूनः बजार हुँदै चाइनिज होटेलको हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख पुस्कल श्रेष्ठले क्षयरोगको परिचय‚ नेपालमा क्षयरोगको विकासक्रम‚ नेपालमा क्षयरोगको अवस्था‚ क्षयरोगमा लुम्बिनी प्रदेश र रुकुम पूर्वको अवस्था‚ DOTS पद्धतीद्धारा क्षयरोगको पहिचान‚ उपचार र यस रोगको उपचारमा प्रयोग हुने औषाधीको मात्रा लगाएतको बारेमा जानकारी गराउनुभएको थियो ।
रुकुम पूर्वमा पनि विभिन्न समयमा क्षयरोग पहिचाको लागि क्याम्पिङ हरु गरिदै आइएको छ । यसै क्रममा आर्थिक वर्ष २०७७/७८ मा खकारमा नदेखिने १ जनामा‚ खकारमा देखिने ९ जनामा र फोक्सोबाहेकको टिबी ३ जनामा पाइएको तथ्याङ्क स्वास्थ्य कार्यालयसँग छ । यस्तै आर्थिक वर्ष २०७८/७९ मा खकारमा देखिने ८ जनामा‚ खकारमा नदेखिने १ जनामा र फोक्सो बाहेकको टिबी १ जनामा पाइएको थियो । आर्थिक वर्ष २०७९/८० मा खकारमा नदेखिने टिबी १४ जनामा देखिएको छ ।
यस जिल्लमा क्षयरोगका बिरामीहरु छन् । तर उनिहरुको पहिचान हुन सकिरहेको छैन् । कतिपय बिरामीहरुले काठमाडौँ गएर चेकजाँच गर्ने तथा औषाधी सेवन गर्ने भएको हुँदा उनिहरुको डाटा जिल्लामा नहुने गरेको पाइएको छ । यस जिल्लामा क्षयरोग पहिचान गर्न पनि चुनौती रहेको छ ।
स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख पुस्कल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख र निमित्त प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत डोर बहादुर बस्नेत‚ स्वास्थ्य कार्यालय प्युठानका तथ्याङ्क सहायक जगत बोहोरा‚ स्वास्थ्य कार्यालय रोल्पाका तथ्याङ्क सहायक अरुण भिटु‚ स्वास्थ्य कार्यालय प्युठानका कोल्ड चेन निरिक्षक कौशल राम वैद्यलगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन पब्लिक हेल्थ नर्स दा खड्काले गर्नुभएको थियो ।