रुकुम पूर्वमा भुकम्प र आगलागि सम्बन्धी कृत्रिम घटनाको अभ्यास गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पूर्वले समुदायको अगुवाईमा जोखिम न्यूनिकरण परियोजना अन्तर्गत आज रुकुमकोट कमल दहमा भुकम्प र आगलागि सम्बन्धी कृत्रिम घटनाको अभ्यास गरेको हो ।

भुकम्प जादा र आगलागि हुँदा हुने क्षती‚ घाइतेको उद्धार‚ जोखिम क्षेत्रको रेखाङ्कन‚ घाइतेको प्राथमिक उपचार र प्राथमिक उपचार पछि अस्पताल रिफर गर्ने लगाएतको कुरालाई अभ्यास मार्फत देखाइएको थियो ।

भुकम्प जतिबेला पनि जान सक्ने र अब आगलागिका घटनाहरु बढ्ने भएकाले त्यस तर्फ नागरिकलाई सचेत गराउने  उदेश्यका साथ कृत्रिम अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पूर्वका सभापती दामोदर गौतमले बताउनुभएको छ ।

कमल दहको परिसरमा खर र पलाइउडको दुई वटा टहरा निर्माण गरिएको थियो । एउटा टहरालाई भुकम्प गएर भत्काएको र त्याहाँ मान्छे पुरिएको‚ उद्धारकर्मीले उद्धार गरी प्राथमिक उपचारपछि अस्पताल रिफर गरिएको देखाइएको थियो ।

अर्को टहरामा आगलागि भएको र आगलागि पछि जलेर टहरा नष्ट भएको‚ मान्छे पनि जलेर घाइते भएको‚ दहबाट पम्पमार्फत पानी तानेर आगो निभाएको‚ घाइतेको उद्धार गरेको‚ प्राथमिक उपचार पछि यम्बुलेन्स मार्फत अस्पताल लगिएको देखाइएको थियो ।

जापानिज रेडक्रसको आर्थिक सहयोग‚ जिल्ला प्रशासन कार्यालय‚ जिल्ला प्रहरी कार्यालय‚सशस्त्र प्रहरी बल आश्रित गुल्म‚ चण्डिदल गण सुरक्षा गुल्म‚ सिस्ने गाउँपालिकाको समनव्य र नेपाल रेडक्रस सोसाकइटी जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा भुकम्प र आगलागि सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो ।

नेपाल रेडक्रस सोसाकइटी जिल्ला शाखा रुकुम पूर्वका सभापती दामोदर गौतमको अध्यक्षतामा भएको कृतिक अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसादद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख‚ जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधी‚ शिक्षक‚ विद्यार्थी‚ पत्रकार तथा समुदायका नागरिकहरुको उपस्थिती रहेको थियो ।