रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् । रन्मा गाउँ देखि पारीको चत्रा भिरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा ठोक्किँदा आगलागी भएको बताइएको छ । उक्त आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

आगलागिमा परी घाइते हुनेहरुमा दाँत बुढा मगर, उज्ज्वल बुढा मगर, थपनबहादुर बुढा मगर, सम्झी बुढा मगर, गोरा बुढा मगर र पुत्र बुढा मगर रहनुभएकाे छ । अहिले घाइतेहरुलाई रन्मा गाउँमा झारिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभएको छ । घाइतेहरुलाई भोली हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । आजै हेलिकप्टर ल्याएर बिरामीलाई उपचारको लागि लैजाने भिनएपनि रन्मामा नाइट भिजन हेलिप्याड नभएको कारण आज हेलिकप्टर आउन नसकेको उहाँले बताउनुभएको छ ।

सडक सुविधा नभएको उक्त ठाउँमा भोली बिहानै हेलिकप्टर ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । उहाँकाअनुसार हेलिकप्टर ल्याउनको लागि सबै प्रक्रिया पुरा भइसकेको छ । अहिले घाइतेहरुको उपचारको लागि पुथा उत्तरगंगा गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली पुगिसकेको छ ।

जंगलमा आगाे फैलिरहेकाे स्थानीयले बताएका छन् । आगो नियन्त्रणको लागि सुरक्षा निकायको टोली आगलागि भएको ठाउँतिर गएको छ। रन्मा पुग्नको लागि सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडि र २ देखी ४ घण्टाको पैदल यात्रा गर्नुपर्दछ ।