रुकुम पूर्व सिस्ने गाउँपालिका-८ धपे स्थित प्रहरी चौकी निर्माणार्थ अजय पौडेलले एक लाख बढी नगद सहयोग गर्नुभएको छ । सोही ठाउँ घर भई हाल अमेरिका रहनु भएका पौडेलले प्रहरी चौकीको भवन निर्माणमा सहयोग पुगोस् भन्ने हेतुले एक लाख पाँच हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

प्रहरीको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा समस्या भइरहेको छ । कार्य सम्पादन सजिलो बनाउन प्रहरी तथा स्थानीय प्रहरी चौकी बनाउन कस्सिएका छन् । प्रहरीको आफ्नै भवन होस् र त्यसबाट शान्ति सुरक्षाको थप प्रत्याभूति पाइने अपेक्षा सहित गाउँले सहयोग सङ्कलनमा जुटेका छन् । गाउँलेले सुरु गरेको अभियानमा थोरै भए पनि सहयोग होस भनेर आफूले सहयोग गरेको पौडेलले बताउनुभयो ।

जग्गा व्यवस्थापन तथा भवन निर्माणका लागि धपे र त्यस आसपासका सबै स्थानीय लागि परेका छन् । टोल टोलमा स्वतःस्फूर्त सहयोग सङ्कलन गर्ने काम भइरहेको धपे प्रहरी चौकी व्यवस्थापन समितिले जनाएको छ । हरेक स्थानीयले सकेको आर्थिक सहयोग गरिरहेका छन् । सहयोग रकम अपेक्षा अनुसार नै सङ्कलन भइरहेको र चाँडै लक्षमा पुग्ने आशा गरिएको समितिले बताएको छ ।