नेकपा एमाले रुकुम पूर्वको अध्यक्षमा लिलामणी गौतम सर्वसम्मत चयन हुनुभएको छ । रुकुमकोटमा भएको ९औं जिल्ला अधिवेशनबाट गौतमको नेतृत्वमा ७८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।

बिहीबार उद्घाटन भएको अधिवेशनपश्चात् शुक्रबार भएको बन्दसत्रले अध्यक्षमा गौतम, उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा र उपसचिवमा पशुपति खड्का तथा केशकुमारी तुलाचन सर्वसम्मत निर्वाचित गरेको जानकारी निर्वाचन समितिका संयोजक दामोदर पौडेलले दिनुभएको छ । यसका साथै ७ सदस्यीय लेखा समितिको संयोजकमा चिन्तामणि दाहाल र सचिवमा शोभाकर शर्मा निर्वाचित भएको पनि संयोजक पौडेलको भनाइ छ ।

हिजै आयोजित शपथग्रहण कार्यक्रमपश्चात् आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष गौतमले रुकुमपूर्वमा एमालेलाई नयाँ गतिमा लैजान आफ्नो टिमले गतिशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।