नेकपा (एमाले) रुकुम पूर्वका नवनिर्वाचित अध्यक्ष लिलामणी गौतमले पार्टीलाई जिल्लाको पहिलो पार्टी बनाउने बताउनुभएको छ ।
पार्टीको नवौ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएका अध्यक्ष गौतमले शनिबार रुकुमकोटमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेलाई जिल्लाको पहिलो पार्टी बनाउने लक्ष्यका साथ बिभिन्न प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष गौतमले बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक संस्कार र नजिर स्थापित गर्दै पार्टि सुदृढीकरणमा अघि बढ्ने बताउनुभयो । उहाँले जिल्लाको इतिहास र गतिविधीहरुको विश्लेषण गर्दै पार्टीका कार्यक्रमहरु अगाडि बढाउने उल्लेख गर्नुभयो ।
जिल्लाका विकास निर्माण लगाएत अन्य जनसरोकारका विषयहरुमा पहलकदमी लिदै यहाँका भौगोलिक र साँस्कृतिक विविधतामा रहेका मनोविज्ञानहरुको सम्बोधन गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता अध्यक्ष गौतमले पेस गर्नुभयो ।
गत चैत्र २९ र ३० गते जिल्लाको सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको नवौँ जिल्ला अधिबेशनमा गौतमको नेतृत्वमा १९ जना पछि थप गर्ने गरी ७१ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा, उपसचिवमा पशुपति खड्का र केशकुमारी तुलाचन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणी गौतमको अध्यक्षता रहेको पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य एवम रुकुम पूर्वका ईन्चार्ज नबिन रोकाको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रिय सल्लाहकार समितिका सदस्य नन्दलाल शर्मा लगाएत जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको थिया ।