रुकुम पूर्वमा रहेको जिल्लाको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसले बजार सरसफाई गरेको छ । सोमबार क्यम्पस परिसर तथा समुदाय सरसफाई कार्यक्रम अन्तर्गत क्याम्पसले सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित चोक बजार, खाराचोक, बाहुन्ठाना, कमलदह र क्याम्पस परिसरमा सरसफाई गरेको हो ।

बजार क्षेत्रमा प्लास्टिकजन्य फोहोर बढ्दै गएपछि सरसफाई गर्नु पर्छ भन्ने जनचेतना फैलाउने मुख्य उद्देश्यले क्याम्पसले बजार सरसफाई गरिएको सिस्ने शिक्षा क्याम्पसका प्रमुख तिव्र गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजारका घरआँगनमा फोहोरै फोहोर भइरहेको छ । घरधनीले आफ्नो आँगनमा आफैँ सरसफाई गर्नु पर्ने हो तर, सरसफाई गर्नुको सट्टा झन फोहोर गरिरहेका छन् । मानिसलाई सरसफाई गर्नु पर्छ भन्ने शिक्षा दिनका लागि क्याम्पसका सञ्चालक समिति, क्याम्पसका उपप्राध्यापक र विद्यार्थीको उपस्थितीमा सरसफाई कार्यक्रम सञ्चालन गरेका हौ ।”

विहानको समयमा गरिएको सरसफाईको क्रममा प्लास्टिक जन्य फोहोर ३०/३५ बोरा संकलन गरिएको छ । सरसफाईको क्रममा बजार क्षेत्र र आसपासका नागरिकलाई सरसफाई गर्नुपर्छ भन्ने कुराको सन्देश प्रवाह गर्ने काम पनि गरिएको क्याम्पस परिवारले बताएको छ । सरसफाई कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण गौतम, क्याम्पस प्रमुख तिव्र गौतम, स्ववियु अध्यक्ष जयमान बुढा मगर लगायत क्याम्पस सञ्चालक समितिका सदस्य, क्याम्पसका उपप्राध्यापक र विद्यार्थी गरी ८० जनाको बजार सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो ।