रुकुम पूर्वको सिस्ने गाउँपालिकामा संयुक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० का साथै चिन बेइजिङ घोषणापत्र सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । यस घोषणापत्रमा लैङ्गिक समानता तथा महिलालाई कसरी सशक्तीकरण गर्न सकिन्छ भन्ने कुरालाई समावेश गरिएको छ । यहि घोषणापत्रमा उल्लेख गरिएका कुराहरु र कार्यान्वयनको अवस्थाको बारेमा अभिमुखिकरण कार्यक्रममा सहभागीहरुलाई जानकारी गराइएको छ ।
अभिमुखीकरण कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक माधवराज खरेल र सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत कुमार बुढाथोकीले गर्नुभएको थियो । प्रहरी नायव उपरिक्षक खरेलले संयुक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० का साथै चिन बेइजिङ घोषणापत्रको बारेमा जानकारी गराउनुभएको थियो ।जसअन्तर्गत महिला र गरिबी‚ महिला शिक्षारतालिम‚ महिला र स्वास्थ्य‚ महिलामाथी हुने हिंसा‚ सशस्त्र द्धन्द्धमा महिला‚ नीति निर्माणमा महिला लगाएतको बारेमा अभिमुखिकरण दिइएको छ । यस्तै द्धन्द्धमा महिला तथा बालबालिकामा परेको अवसर‚ महिला विरुद्ध हुने हिंसका प्रकार तथा कसुर र सजायको बारेमा डिएसपी खरेलले जानकारी गराउनुभएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुढाथोकीले महिला शान्ती र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दैजिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले महिला सशक्तीकरणको लागि सबै सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभएको छ । महिलामाथी हुने हिंसाको अन्त्य गर्न र उनिहरुलाई अधिकार सम्पन्न गराउनको लागि आवश्यक जनचेतना फैलाउने कुरामा पनि उहाँले जोड दिनुभएको छ ।
यस्तै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले महिला सशक्तिकरणको लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभएको छ । अहिले भइरकेका कार्यक्रम महिलालाई सशक्तिकरण गर्नको लागि पर्याप्त नभएको तर महिलालाई अगाडी ल्याउन प्रयास गरिरहेको उहाँले बताउनुभएको छ । संयुक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० का साथै चिन बेइजिङ घोषणापत्रमा महिलाहरुको धेरै मुद्धाहरु रहेको बताउदै उहाँले सामाजिक समावेशिकरण र लैङ्गिक समानता नै मुख्य कुरा रहेको बताउनुभएको छ ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्मा, गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक माधवराज खरेल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला संजाल, महिला सहकारी तथा अगुवा महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी सहायक महिला विकास निरिक्षक सुनिता खड्काले गर्नुभएको थियो ।