खानेपानीको समस्या देखा परेपछि समस्या हल गर्ने उदेश्यले सिस्ने गाउँपालिकाको वडा नम्बर ५ मा ट्याङ्की निर्माण गरिने भएको छ । पछिल्लो समय रुकुम पूर्वको सदरमुकाम समेत रहेको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ मा खानेपानीको चरम समस्या देखा परेपछि केही समस्या हल गर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ट्याङ्की निर्माण गर्नेभएको हो ।

आर्थिक वर्ष २०८०/८१ को रू १० लाख बजेटबाट ट्याङ्की निर्माण गर्न लागिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कार्यालय प्रमुख प्रकाश न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यालयमा आर्थिक वर्षको अन्तिममा १० लाख बचेको र यो १० लाखलाई सबैभन्दा बढी समस्या कहाँ छ भनेर खोज्दा सदरमुकाममा खानेपानीको समस्या चरम देखिएकाले स्थानीय सरकार तथा सबैको सल्लाह अनुसार सिस्ने गाउँपालिकाको ५ नम्बर वडाको उच्च ठाउँमा ट्याङ्की निर्माण गर्ने सहमति अनुसार यो निर्णय गरिएको बताउनुभयो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले खानेपानीको समस्याले गर्दा सबैलाई आक्रोसित, विवादित र अलि चिन्ताजनक बनाएकाले स्थानीय सरकारले सरोकारवाला निकाय, ५ र ६ वडाका वडा अध्यक्षहरु दुईवटै वडामा रहेका खानेपानीका सबै उपभोक्त तथा वितरण समितिका प्रतिनिधिहरु , बुद्धिजीवी लगायतलाई बोलाई साँझा ढङ्गबाट काम गर्ने वातावरण सृजना गर्न आग्रह गर्दै सरकारले तत्काल वैकल्पिक खानेपानीको स्रोत तथा मुहान बारे गम्भीरतापूर्वक सोचिरहेको बताउनुभयो ।

त्यस्तै सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, सिस्ने गाउँपालिका ५ नम्बर वडाका वडा अध्यक्ष वीरेन्द्र बस्नेत, सिस्ने गाउँपालिका ६ नम्बर वडाका वडा अध्यक्ष पुर्ण बहादुर मल्ल लगायतले सबैले मिलेर खानेपानीको मारमा परेका जनतालाई पानी खुवाउन सबै लाग्नुपर्ने र सबैको सल्लाह सुझाव अनुसार उपभोक्त समिति तथा वितरण समितिहरुले काम गरे खुलेर समर्थ तथा आइपर्ने समस्याको समाधान गर्ने बताउनुभएको छ ।

रुकुमकोट खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष तथा निवर्तमान सिस्ने ६ का वडा अध्यक्ष सुधन रेग्मीले खानेपानीको समस्या हल गर्न कुराले भन्दा काम गरेर देखाउन आवस्यक रहेको बताउनुभएको छ । रेग्मीले कतिपय गलत मानसिकता भएका केही प्रवृत्तिले आफु काम पनि नगर्ने र काम गर्न खोजेकालाई पनि काम गर्न नदिने बताउनुहुदै त्यो प्रवृत्तिले खानेपानीको समस्याले कहिल्यै निकास नपाउने बताउनुभएको छ ।