मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्व खण्डको विभिन्न ठाउँमा लगातार पहिरो झर्न थालेपछी अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरिएको छ । विगत एक सातायता रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ को रानीकोट र त्यस आसपासको क्षेत्रमा निरन्तर पहिरो झरिरहेको छ ।यस्तो समयमा जोखिम मोलेर यात्रा नगर्न र अत्यावश्क बाहेकका सवारी साधान नचलाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक नपरी यात्रा नगर्न र नगराउन अनुरोध गरेको हो ।‘वर्षा सँगै पटक–पटक पहिरो गई बाटो अवरुद्ध हुनुका साथै घाम लागेको समयमा पनि सुख्खा पहिरो जाने क्रम नरोकिएकोले अत्यावश्यक काम बाहेक यात्रा नगर्नुहुन, यात्रा गर्दा उच्च सतर्कता अपनाई यात्रा गर्नहुन, रातको समयमा सकभर यात्रा नगर्नुहुन र यात्रा गर्दा आफ्नो सवारी साधन प्रहरी चेकपोष्टमा इन्ट्री गरेरमात्र यात्रा गर्नुहुन अनुरोध छ, सुचनामा भनिएको छ ।

बर्खा सुरुभए यता जिल्लाको विभिन्न ठाउँमा पहिरो खसेर जोखिम बढेको छ ।भूमे गाउँपालिकाका रानीबासा–पञ्चासे, रुजीखोला-काक्री-सैपातुङ-किमुबोट-काँडाबगर, धौलापहिरा, सिस्ने गाउँपालिका– ६ को पाखागाउँ-रानीकोट-खोपीचार सडक खण्डमा पहिरोको कारण जोखिम बढेको प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्माले जानकारी दिनुभएको छ . अहिले जिल्लामा ठुलो पहिरो मध्यपहाडी लोकमार्गको रानीकोटमा झरिरहेको छ । रानीकोटमा झरेको पहिरोको कारण शनिबार बिहानैबाट अबरुद्ध सडक अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभएको छ । आजै राती रुकुमकोट-पातीहाल्ना खण्डमा पनि रुख ढलेको कारण अहले रुख हटाउने काम भइरहेको डिएसपी खरेलले बताउनुभएको छ ।