एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले आर्थिक वर्ष २०८०/८१ मा ८० प्रतिशत बजेट खर्च गरेको छ । यस कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को लागि प्रदेश सरकारबाट ५ करोड ५४ लाख ९५ हजार रुपैयाँ बजेट आएको थियो । उक्त बजेटमध्येमा कार्यालयले ४ करोड ४३ लाख ७५ हजार रुपैँया अर्थात भारितमा ८० प्रतिशत बजेट खर्च गरेको जानकारी गराएको छ ।

आज रुकुमकोटमा चौथो त्रैमासिक तथा वार्षिक प्रगती समिक्षा कार्यक्रमको आयोजना गरेर उक्त बजेट खर्च भएको जानकारी कार्यालय प्रमुख पिताम्बर बस्नेतले गराउनुभएको हो । कार्यक्रमको लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनले गमलामा पानी हालेर उद्धघाटन गर्नुभएको थियो ।  यस आर्थिक वर्षमा कार्यालयले लुम्बिनी प्रदेशको एक मात्र प्राङगारिक जिल्ला घोषणा गरिएको रुकुम पूर्वमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो । वाली वस्तु विशेष सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत भेडापालन, वर्षे आलु,  स्याउ खेती जस्ता कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी माटो व्यवस्थापन कार्यक्रम सञ्चालन, लक्षित समुदायमा विशेष आयआर्जन कार्यक्रम, पोषण सुधारको लागि कुखुरापालन, प्राङगारिक मल उद्योग प्रवर्धन, महिला लक्षित सिड किट वितरण, पशु स्वास्थ्य शिविर, जिल्लास्तरीय कृषि मेला प्रदर्शनी मेला जस्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयका प्रमुख बस्नेतले जानकारी गराउनुभएको छ । यस्तै कृषक सचेतना कायक्रम, बाली उपचार शिविर कार्यक्रम, प्रयोगशाला सेवा तथा रोग निदान कार्यक्रम, सिंचाई सहित कृषि विकास कार्यक्रम, कृत्रिम गर्भाधान कार्यक्रम, पशुपंक्षीमा लाग्ने विभिन्न रोग नियन्त्रणको लागि खोप कार्यक्रम, रैथाने बालीको प्रवर्द्धन तथा बजारिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

(पुष्प खेती तथा नर्सरी प्रवर्द्धन,  वि.वि.एस. विउ आलु उत्पादन खेती प्रविधि, किवी खेती प्रविधि, हाइडेन्सिटी स्याउ खेती प्रविधि, डिपीङ ट्याङ्की प्रविधि, ट्रेभिज निर्माण प्रविधि प्रदर्शनी)  कार्यक्रम सञ्चालन गरिएको छ । यस अवधिमा विभिन्न खालक तालिमहरु पनि सञ्चालन गरिएको छ । यसै वर्ष भूमेमा प्राङगिरक मल उद्योग सञ्चालनमा आएको छ ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वय एकाई रुकुम पूर्व/रोल्पा कार्यालयले पनि वार्षिक रुपमा आफूले गरेको कामकाजको बारेमा जानकारी गराएको थियो । यस कार्यालयको आर्थिक वर्ष २०८०/८१ को बजेट ४ करोड ६० लाख ९७ हजार रुपैँया बजेट रहेको थियो । जसमा ३ करोड ४३ लाख ८३ हजार ७ सय ५२ रुपैँया अर्थात ७४.५९ प्रतिशत बजेट खर्च भएको कार्यालयका प्रमुख मित्रलाल पौडेलले जानकारी गराउनुभएको छ ।

यसैगरी जिल्लास्थित तीन वटै स्थानीय तहका कृषि र पशु शाखाले पनि बजेट, खर्च र गरेका कामकाजको बारेमा जानकारी गराएका छन् । जसअन्तर्गत सिस्ने गाउँपालिकाको कृषि शाखामा १ करोड ४२ लाख बजेट बिनियोजन भएकोमा ६५ प्रतिशत बजेट खर्च भएको गापउँपालिकाका कृषि अधिकृत क्षितिज खनालले जानकारी गराउनुभएको छ । यस्तै गाउँपालिकाको पशु शाखामा ७० लाख बजेट बिनियोजन भएकोमा ८८ प्रतिशत बजेट खर्च भएको छ ।

भूमे गाउँपालिकाको पशु शाखामा २६ लाख ७० हजार बजेट रहेकोमा यस आर्थिक वर्षमा २४ लाख ५० हजार बजेट खर्च भएको पशु शाखाका नारायण ओलीले जानकारी दिनुभएको छ । यस्तै भूमेको कृषि शाखामा ८८ लाख ४ हजार रुपैँया बजेट बिनियोजन भएकोमा ७२ लाख ६४ हजार रुपैँया बजेट खर्च भएको कृषि शाखा प्रमुख स्वतन्त्रराज चौधरीले जानकारी दिनुभएको छ । यस्तै पुथा उत्तरगंगा गाउँपालिकाको कृषि शाखामा १ करोड २१ लाख बजेट बिनियोजन भएकोमा ८९.८३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश ओलीले जानकारी दिनुभएको छ । यस्तै पशुशाखामा १ करोड २० लाख बजेट बिनियोजन भएकोमा ९७ प्रतिशत बजेट खर्च भएको नायव पशुसेवा प्राविधिक तिलक खड्काले जानकारी गराउनुभएको छ ।

गाउँपालिका तथा कार्यालयको प्रस्तुतिकरणपछी राजनितिक दलका प्रमुख एवम् प्रतिनिधीले सल्लाह सुझाव दिएका थिए । कार्यक्रमका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख बस्नेतले आवश्यक सल्लाह सुझावलाई मनन् गर्दै नयाँ आर्थिक वर्षको कार्यसम्पादन गर्ने बताउनुभएको छ ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका कार्यालय प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य सुरुल पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठ, उपप्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्माको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिस्ने गाउँपालिका ६ का वडाध्यक्ष पूर्ण बहादुर मल्ल, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधी, जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, तिन वटै गाउँपालिकाका कृषि र पशु शाखाका प्रमुख तथा प्रतिनिधी, सहकारी/समुहका प्रमुख एवम् प्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका अधिकृत छैटौ खिम बहादुर रोकायको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।