रुकुम पूर्वमा सरकारी निकायबाट पहिलो पटक डेन्टल सेवा सुरु भएको छ । जिल्लामा रुकुम पूर्व अस्पतालबाट डेन्टल सेवा सुरु भएको हो । दाँतसँग सम्बन्धीत समस्या समाधान गर्न भन्दै  अस्पतालले दन्त उपचार सेवा सुरु गरेको हो ।

अस्पतालले डेन्टल हाइजिनिस्ट जमुना ओलीलाई खटाएर दन्त उपचार सेवाको सुरुआत गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिनुभएको छ । तत्काललाई दाँत र मुख सम्बन्धीका सामान्य उपचारहरु जस्तैः दाँतको एक्सरे, भाचिएका, बिग्रिएका, हल्लिएका तथा किराले खाएका दाँत निकाल्ने, किराले खाएको दाँत सफा गर्ने तथा भर्ने  लगाएतका सेवाहरु सुरु गरिएको डाक्टर कोइरालाले बताउनुभएको छ ।

निमित्त मे.सु. डाक्टर कोइरालाका अनुसार सास गनाउने, गिजा सुनिने तथा गिजाबाट रगत आउने जस्ता समस्याहरुको उपचार सेवा सुरु गरिएको छ । अस्पतालले अत्यन्तै न्यून शुल्कमा दन्त उपचार सेवा सुरु गरेको छ । विगत दुई तिन महिना अघिबाटै सामान्य रुपमा ड्रेसिङ कक्षबाट दन्त सेवा दिदैं आएको भएपनि व्यवस्थित रुपमा डेन्टलकै आफ्नै कार्यकक्ष बनाएर सेवा आजैबाट सुरुआत गरिएको अस्पतालले जनाएको छ ।

तत्काललाई उपलब्ध स्रोत साधन र जनशक्तिको परिचालन गरी दन्त सम्बन्धि आधारभूत सेवाहरु सुरु गरेको बताउदै अस्पतालका निमित्त मे.सु. डाक्टर कोइरालाले चालु आर्थिक वर्ष भित्रै दाँत सम्बन्धी चिकित्सक डेन्टल सर्जन नियुक्त गरी आरसिटी लगाएतका सेवा विस्तार गर्ने योजना रहेको बताउनुभयो । यसअघि दाँत सम्बन्धीका समस्या आउदा नागरिकहरु चर्को मूल्य तिरेर प्राइभेट डेन्टल क्लिनिकमा गएर सेवा लिन बाध्य थिए । अस्पतालमै डेन्टल सेवा सुरु भएपछि नागरिकलाई पनि सहज हुने भएको छ।

यस्तै यसअघि बाहुनठानाबाट दिइदै आएको अस्पतालको आखा उपचार सम्बन्धि सेवा पनि स्पतालकै भवनबाट दिन थालिएको छ ।