रुकुम पुर्वमा रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालनको लागि तथ्यांक संकलनको कार्यलाई अगाडि बढाउने भएको छ । जिल्लामा सञ्चालन हुने विभिन्न खालका कृषि र पशु सम्बन्धिका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि जिल्लाको तथ्यांकलाई अद्यावधिक गर्ने कार्य अगाडि बढाउन लागेको हो । जसको लागि कार्यालयले आज तीन वटै गाउँपालिकाका प्राविधिकहरुको लागि तथ्यांक संकलन सम्बन्धि अन्तरक्रिया गोष्ठिको आयोजना गरेको छ ।
गोष्ठीमा ३ वटै गाउँपालिकाका कृषि र पशु शाखाका प्राविधिकहरुलाई तथ्यांक संकलन कसरी भर्ने भन्ने बारेमा सिकाइएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका कार्यालय प्रमुख डिल्लिराज पौडेलले जानकारी दिनुभएको छ । उहाकाअनुसार यस जिल्लामा कृषि सम्बन्धि आवश्यक विवरण, पालिकाहरुको प्रोफाइल सम्बन्धि विवरण, जिल्लामा रहेका विभिन्न कृषक फर्म, समूह तथा कृषि सहकारि, व्यावसायिक कृषि फर्म, कृषक समुहहरुको विवरण, कृषि सहकारि संस्थासँगै जिल्ला बाहिर निर्यात हुने मुख्य मुख्य कृषि उपजहरुको विवरण, पालिका अनुसार बालिहरुको क्षेत्रफल, सहकारी बजार लगाएतको बारेमा तथ्यांक संकलन गरिने छ ।
यस्तै शीत भण्डार, प्रशोधन केन्द्र, गोदाम घर, रस्टिक स्टोर, सेलार स्टोर, कृषि यन्त्र उपकरण बिक्री गर्ने डिलरहरुको विवरण, उद्योग तथा कम्पनी, पशुपंक्षी सम्बन्धि आवश्यक विवरणहरु अद्यावधिक गरिने बताइएको छ । यसरी जिल्लाको एकिन तथ्यांक निकाल्न सकियो भने कृषि र पशुको क्षेत्रमा सञ्चालन गरिने कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ । यसरी संकलन गरिएको तथ्याङकलाई स्थानीय तहसँगै प्रदेश र संघ सरकारमा पनि पठाउने र यसले सबैलाई एकिकृत र प्रभावकारी योजना निर्माणमा सघाउ पुर्याउने अपेक्षा राखेको कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।
जिल्लामा पुरानै तथ्याङक अनुसार कृषि र पशुको क्षेत्रमा योजना निर्माण र बजेट बिनियोजन गर्ने कार्यले कहिकतै समस्या भइरहेको थियो । अब यो तथ्याङक अद्यावधिकको कार्यले कृषि र पशुको क्षेत्रमा योजना निर्माणसँगै बजेट बिनियोजन र कार्यान्वयनको क्षेत्रमा थप सफलता हासिल गर्न सकिने जिल्ला समन्वय समित रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले बताउनुभएको छ । आजको गोष्ठि कार्यक्रममा सिकाएबमोजिम प्राविधिकहरुले आफ्नो कार्यक्षेत्रमा गएर लगनशिलताका साथ काम गर्न र सहि तथ्याङ्क संकलन गर्न आग्रह गर्नुभएको छ ।
एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख डिल्लीराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पूर्व /रोल्पा कार्यालयका प्रमुख मित्रलाल पौडेल, जलस्रोत तथा सिचाई विकास सव डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख जयराम खड्का लगाएत तीन वटै गाउँपालिकाका कृषि र पशु शाखाका प्राविधिकहरुको उपस्थिती रहेको थियो ।
एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका पशु अधिकृत खिम रोकायको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गर्भएको थियो ।