रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका सहितको स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । यही मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि पुथा उत्तरगंगा गाउँपालिका सहितको स्थानीय तहमा बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न पाउने छैनन् । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आयोगले मतदानको ४८ घण्टाअघि मौन अवधि लागू गर्छ। आइतबार उपनिर्वाचन तोकिएका ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मतदान हुन लागेको हो ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसक्नु भएको छ । त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा पनि माओवादी केन्द्रका जगत घर्ती (काजु) निर्विरोध निर्वाचित हुनुभ्एको छ । मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।