रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो जाकेट वितरण गरिएको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम (पुूर्वी भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाका २२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो । गत डिसेम्बर ५ देखि १७ तारिखसम्म न्यानो ज्याकेट वितरण गरिएको थियो ।
कर्मफ्लाइट्स फाउन्डेसन र मेटल फर नेपालको आर्थिक सहयोग, कर्मफ्लाइट्सको व्यवस्थापन तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा हिमाली जिल्ला रुकुम (पूर्वी भाग) का विद्यार्थीको पठनपाठन अभियानमा सहजीकरण गर्न न्यानो ज्याकेट परियोजना सञ्चालन गरिदै आएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताउनुभएको छ ।
उहाँका अनुसार न्यानो ज्याकेट परियोजना अन्तर्गत जनप्रिय आवि घुम्लिबाङमा १०१ जना, उत्तरगङ्गा आवि उपल्लोसेरामा ९१ जना, जनता आवि तल्लोसेरामा २० जना, ज्योति आवि फल्नैमा २३ जना, दुर्गा आवि गर्खानीमा ४३ जनालाई न्यानो जाकेट वितरण गरिएको छ । यस्तै पर्वत मावि कोलमा २ सय ८८ जना, पहाडी आवि छमारीमा १६ जना, जनसेवा आवि गोलखाडामा ५५ जना, डिग्रे आवि पानीचौरमा ४८ जना, सिद्धमण्डली माविमा ३५६ जना, आधारभूत विद्यालय नाखामा ८० जना, सानोभेरी आधारभूत विद्यालय खारखोलामा ७३ जना, जनसहयोग मावि रिवाङचौरमा २२० जना, सृजनशील बालविकास केन्द्र खराङमा १९ जना विद्यार्थिलाई न्यानो ज्याकेट वितरण गरिएको छ ।
यसैगरी लालपाटन आवि चुमामा ३६ जना, बालकल्याण आवि घरेलुटाकुरामा २९ जना, आधारभुत विद्यालय घुर्बाङमा २९ जना, जनज्योति मावि जाङमा १७१ जना, बालविकास जुनाङमा ५ जना, मनराज बालविबास हिममा ५ जना, तातोपानी आवि गुइबाङमा ८ जना र नियमित छात्रवृत्ति पाउनेतर्फ पुथा मावि मैकोटमा १७ जना गरेर जम्मा १ हजार ७ सय ३३ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।
वडा नं १४ का वडा अध्यक्ष द्रवेश बुढा मगरले सिद्धमण्डली माविमा न्यानो ज्याकेट वितरण कार्यक्रमा बोल्दै ‘राज्यले गर्न नसकेको काम कर्मफ्लाइट्स मार्फत भएको हुँदा स्थानीय तहलाई विकास निर्माणमा ठूलो सहयोग भएको’ बताउनुभएको थियो ।
बालकल्याण आवि घरेलुटाकुराका प्रअ अर्जुन बुढाक्षेत्रीले ‘न्यानो ज्याकेट तथा पुस्तकालयको लागि पुस्तक वितरण कार्यक्रम यो विद्यालयमा पहिलो पटक भएको र यस्तो कार्यक्रम पहिला प्रदेश मुख्यमन्त्री कार्यक्रम मार्फत हुने भनिए पनि कहिल्यै नभएको’ गुनासो गगर्नुभएको थियो । कर्मफ्लाईट्सले विद्यालयमा पुस्तकालयको लागि पुस्तक वितरण गरेपछि खुसी हुँदै विद्यार्थिलाई गरेको न्यानो ज्याकेटको सहयोगले चिसो मौसममा विद्यार्थी संख्या घट्ने समस्या कम हुने अपेक्षा गरेको बताउनुभएको छ ।
कर्मफ्लाइट्स फाउन्डेसन पोखरा कास्कीले लुम्बिनी प्रदेश रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका ३ वटा विद्यालय वडा नं ७ को १ विद्यालयमा पुस्तकालयको लागि पुस्तकहरू वितरण गरिसकेको छ ।
आफ्नो स्थापनाकालदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थुप्रै कामकार्य गरिआएको कर्मफ्लाइट्स फाउन्डेसनले ‘एक विद्यालय, एक पुस्तकालय’ कार्यक्रम मार्फत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका जनसहयोग मावि रिवाङचौर, लालपाटन आधारभूत विद्यालय चुमा र बालकल्याण आधारभूत विद्यालय घरेलुटाकुरा र वडा नं ७ मा रहेको आधारभूत विद्यालय खारखोलामा पुस्तकालय स्थापनार्थ पुस्तक वितरण गरेको कुरा कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताउनुभएको छ ।