
रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातीदेखी परेको हिमपातको कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम-पातिहाल्ना क्षेत्रमा रुकुम पश्चिमदेखि काठमाडौंको लागि छुटेका ३ वटा र काठमाडौंबाट आएका ४ वटा बससँगै अन्य साना गाडीहरुको उद्धार गरिएको छ ।
हिमपातका कारण बाटो बन्द भएपछी शुक्रबार दिउसोबाट बस र फोर्स गाडी रुकुम पूर्व र बागलुङ सिमाना क्रस गर्न नसक्दा यात्रुहरु अलपत्र अवस्थामा थिए । रुकुम पश्चिमबाट काठमाडौंको लागि छुटेको बस शुक्रबार दिउसो पातिहाल्ना नजिक पुगेपनि हिउँको कारण अगाडी बढ्न नसक्दा रातभरी र शनिबारको दिन दिनभरी गाडीमै बिताएको रुकुम पश्चिमकी प्रेमिका मल्लले बताउनुभयो । त्याहा नजिकै होटेलहरु नभएको र पातिहाल्नामा भएको साना दुइवटा होटेलमा मान्छे नै नअटाउने भएपछि ४८ घण्टासम्म खाना पान नपाएर बिताएको यात्रुहरुले बताएका थिए ।
शनिबार दिनभरी भूमे गाउँपालिकाको सहयोगमा मेसिन लगाएर मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर बस र यात्रुहरुको उद्धार गरिएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । रुकुम पूर्वको लुकुम-पातिहाल्ना खण्डको लगभग ५ किलोमिटर र बागलुङ खण्डको २ किलोमिटर गरी ७ किलोमिटरमा रहेको हिउँ पन्छाएर यात्रुहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभएको छ । उहाँकाअनुसार रुकुम पूर्व खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोग र मेसिनले हिउँ पन्छाएको हो भने बागलुङ खण्डमा बागलुङले मेसिन लगाएर हिउँ पन्छाएको हो ।
हिउँ पन्छाएपछि काठमाडौंको लागि रुकुमबाट छुटेका बस र रुकुमबाट काठमाडौंको लागि छुटेका बसहरुलाई वारपार गराइएको छ । साथै दर्जनौ भन्दा बढी साना गाडीहरुलाई पनी वारपार गराइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरिक्षक हिम बहादुर केसीले बताउनुभएको छ ।
आजलाई मध्यपहाडीमा अलपत्र परेका यात्रुहरुको उद्धारको लागि अलीअली हिउँ हटाइएको छ । हिउँमा फसेका गाडीहरुको उद्धार पश्चात रातीको समयमा यो रुट भएर गाडी नचलाउन भनिएको छ । आइतबार बिहान मध्यपहाडी लोकमार्गको यो खण्डको अवस्था हेरेर मात्र गाडी सञ्चालन गर्ने वा नगर्ने भनेर जानकारी गराउने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभएको छ ।
रुकुम पूर्व र बागलुङ सिमानामा वर्षेणी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध हुने गरेको छ । यस वर्ष पनि सडकमा साढे १ फिट हिउँ जमेको छ ।