हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग आजबाट सुचारु भएको छ । गएको साता शुक्रबार र शनिबार भएको हिमपातका कारण अबरुद्ध रुकुम पूर्वको लुकुम-पातिहाल्ना खण्डको हिउँ पन्छाएपछी आजबाट यातायात सेवा सुचारु गरिएको हो ।

सडकमा साढे १ फिट हिउँ जमेपछी दुइ दिन यो खण्डमा यातायातका साधन चल्न सकेका थिएनन् । हिमपातकै कारण यस खण्डमा रुकुमको लागि काठमाडौंबाट छुटेका र रुकुमबाट काठमाडौंको लागि छुटेका आधा दर्जन बस र दर्जन बढी साना गाडी र यात्रुहरु अलपत्र परेका थिए । शनिबार दिनभरी भूमे गाउँपालिकाको सहयोगमा जेसिबी लगाएर हिउँ पन्छाएपछी आज बिहान १० बजेबाट यस खण्डमा यातायात सेवा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिम बहादुर केसीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै मेसिनले हिउँ पन्छाएपछी अलपत्र यात्रुको उद्धार गरिएको र रातीको समयमा यो रुटमा आवागमनलाई बन्द गरिएको थियो । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खणडमा ५ किलोमिटर र बागलुङ खण्डको २ किलोमिटर गरी ७ किलोमिटरमा हिउँ जमेको थियो । बागलुङ खण्डमा जमेको हिउँ बागलुङले पन्छाएको थियो भने रुकुम पूर्व खण्डमा यहाँको प्रहरी, प्रशासन र स्थानिय तहको सहयोगमा हिउँ पन्छाएपछी आज बिहान १० बजेबाट यातायात सेवा पूनः सूचारु भएको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।

अबरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु भएसँगै यात्रुहरुलाई आवतजावत गर्न सहज भएको छ । मध्यपहाडी लोकमार्गको सबै भन्दा उच्च भागमा रहेको यस पातिहाल्ना क्षेत्रमा वर्षेणी यसै समयमा हिमपात हुने र आवागमन बन्द हुने गरेको छ ।