
रुकुम पुर्वमा आप्रवासी स्रोत केन्द्रको उद्घाटन गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सूचना, परामर्श तथा सहजीकरणका लागि स्थापना गरिएको आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) को बिहीवार उद्घाटन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले रिवन काटेर केन्द्रको उद्घाटन गर्नुभएको हो ।
जिल्लाको सिस्ने गाउँपालिकाले संघीय र प्रदेश सरकारसंग समन्वय गरी जिल्ला प्रशासन कार्यालय परिसरमा गएको मंसिर महिनामै स्रोतकेन्द्र स्थापना गरेको हो ।
आप्रवासी स्रोत केन्द्रका लागि जिल्ला प्रशासन कार्यालयले २ वटा परामर्श कक्ष रहने गरी स्थान उपलब्ध गराएको छ । आप्रवासी स्रोत केन्द्रले गएको मंसिर महिनाबाटै सेवा सुचारु गरेपनी विधिवत रुपमा लुम्बिनी प्रदेशबाट सामी कार्यक्रम र वैदेशिक रोजगार बोर्डको टोलिहरु सहित जिल्लास्थित सरोकारवाला निकायको उपस्थितिमा उद्घाटन गरिएको हो ।
जिल्लामा आप्रवासी स्रोत केन्द्रको स्थापना र सेवा शुरुआतसँगै वैदेशिक रोजगारमा जान चाहनेहरुको लागि आवश्यक परामर्श दिने र यसबाट ठगी लगाएतका समस्याहरु कम हुने सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले बताउनुभएको छ । स्रोत केन्द्रबाट प्रवाह हुने सेवाले वैदेशिक रोजगारमा गएका, उनिहरुका परिवार, वैदेशिक रोजगारमा जान चाहनेहरुलाई सहज हुने उहाको भनाई छ ।
स्रोत केन्द्र सञ्चालनको लागि गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा २ जना कर्मचारी राखेको छ । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले प्रशासन परिसरमै कार्यालय भएकोले वैदेशिक रोजगारीमा जाने तयारीका युवालाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, सावधानी तथा निःशुल्क तालिमका लागि सिफारिस तथा अप्ठ्यारोमा परेकालाई कानुनी सहायताका लागि सहज हुने बताउनुभएको छ ।
वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत विष्णु अर्यालले आप्रवासी स्रोत केन्द्रको परामर्श कक्षमार्फत सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्श, स्वदेश वा विदेशमा वैदेशिक रोजगारीका कारणले निम्त्याएका ठगी, मृत्यु, अंगभंग, बिरामी, अलपत्र, जेल परेका, हराएकालगायतका समस्यामा निःशुल्क कानुनी सहायतका लागि सहजीकरणका कामहरु हुने बताउनुभएको छ ।
रुकुम पुर्वमा सामी कार्यक्रमको अन्तरपालिका स्तरीय बैठक, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।